Logo

संसदीय दलको नेतामा पोखरेल सर्वसम्मत



बुटवल, ७ माघ (रासस) : नेकपा (एमाले) को प्रदेश नं ५ को संसदीय दलको नेतामा प्रदेश सांसद शंकर पोखरेल चयन भएका हुनुभएको छ ।

प्रदेश सांसदको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै एमाले ५ नं प्रदेश कार्यालय बुटवलमा बसेको संसदीय दलको बैठकले पोखरेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । ५ नं प्रदेशको एमाले संसदीय दलको बैठक ज्येष्ठ सदस्य कमल श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।

बैठकमा परासीका प्रदेशसभा सदस्य वैजनाथ चौधरीले दलको नेताका रुपमा पोखरेललाई प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावलाई रुपन्देही निर्वाचन क्षेत्र नं २ ‘ख’ का सदस्य लीला गिरीले सर्मथन गर्नुभएको थियो । त्यसपछि सबै प्रदेश सदस्यहरुले ताली बजाएर पोखरेललाई संसदीय दलको नेताको रुपमा सर्मथन जनाएका थिए ।

संसदीय दलको नेता चयन भएसँगै पोखरेललाई ५ नं प्रदेशको मुख्यमन्त्री हुने बाटो खुलेको छ । संविधानको धारा १६८ मा संसदीय दलको नेता मुख्यमन्त्री हुने र प्रदेश मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ । संविधानतः प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने व्यवस्था रहेको छ ।

संसदीय दलको नेता चयनपछि बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले ५ नं प्रदेश ऐतिहासिक हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको भन्दै योजनाबद्ध विकास गर्न सकेमा मात्र समृद्ध र बलियो प्रदेश बनाउन सकिने बताउनुभयो ।

उहाँले जनचाहना अनुरुप प्रदेशको योजनाबद्ध विकासमा एकलै नभएर सामूहिक प्रतिबद्धताको जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो ध्यान प्रदेशको विकासमा केन्द्रित हुने भन्दै त्यसका लागि जनचाहनालाई योजनाबद्ध विकासमा समेटेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

बैठकमा एमाले उपमहासचिव तथा पार्टीका प्रदेश संयोजक विष्णु पौडेलले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुनुभएका पोखरेललाई बधाई दिँदै ५ नं प्रदेशको एकीकृत र योजनाबद्ध विकासमा आफ्नो पनि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।



प्रतिक्रिया दिनुहोस्