Logo

संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : सिंह



काठमाडौँ, ८ माघ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।
पद्मकन्या विद्याश्रम उच्च माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माणमा सबै दल मिलेजस्तो कार्यान्वयनमा पनि सबै दल मिल्नुपर्ने बताउनुभयो ।

“हिजोमात्र प्रदेशसभाका सदस्यले शपथ ग्रहण गर्नुभएको छ, उक्त समारोहसँगै मुलुक एकात्मक केन्द्रीय शासनबाट संघीयतामा प्रवेश गरेको छ, अब मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ”– उहाँले भन्नुभयो ।

नेता सिंहले एकतन्त्रीय राणा शासनको समयमा महिला शिक्षाका लागि स्व मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । सोही क्षेत्रका सांसदसमेत रहनुभएका सिंहले सामुदायिक विद्यालयको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालय सुधारका लागि महानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो । “लामो इतिहास बोकेको विद्यालयको विकासका लागि महानगरले विशेष सहयोग गर्छ,”– उहाँले भन्नुभयो ।

सो कार्यक्रममा नेता सिंहले २५ वर्षदेखि सो विद्यालयमा सेवा गरेका कर्मचारी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । काठमाडौँको डिल्लीबजारमा अवस्थित उक्त विद्यालय विसं २००४ मा स्थापना भएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्