Logo

नेपाल–भारत सम्बन्ध युनिक छ, एकअर्काको संवेदनशीलतालाई बुझेर अघि बढ्नुपर्छ : डा. महत



काठमाडौं, ११ माघ ।  नेपाली कांग्रेसका नेता एवम् पूर्वपराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल–भारत सम्बन्ध युनिक र विशिष्ट रहेको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘खुल्ला बोर्डर छन्, विना आईडी, विना भिसा र पासपोर्ट हामी आवातजावत गर्न सक्छौं, हाम्रो भूगोल खुल्ला छ।’ जनस्तरमा समेत प्रगाढ सम्बन्ध रहेको नेपाल र भारतवीच जटिलताहरु आउनु स्वभाविक भएको उनको तर्क थियो ।

डा. महतले नेपाल र भारतले एक अर्कावीचका संवेदनशीलतालाई बुझनुपर्नेमा जोड दिए । उनले भने,‘हामीले एक-अर्काको संवेदनशीलतालाई बुझ्न सक्नुपर्छ, र त्यही अनुसार चल्नुपर्छ।’

आपसी विश्वासका आधारमा अघि बढ्न सक्नुपर्ने बताउँदै यसले नै सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने महतले बताए । द्धिपक्षीय सम्बन्धमा शंका तथा उपशंका पाल्न नहुने उनको धारणा थियो ।

नेपालमा सत्तामा पुग्ने भ¥याङको रुपमा राष्ट्रियताको नारा लाग्ने गरेकोप्रति उनले दुःख व्यक्त गरे । द्धिपक्षीय सम्बन्धमा केही समस्या भए त्यसको लागि कुटनीतिक टेबलमा बसेर आधार र तथ्यसहित प्रस्तुत हुनुपर्ने उनको सुझाव थियो । नेपाल र भारतवीच अन्योन्याश्रित सम्बन्ध भएकोले एक अर्काको आवश्यकत्तालाई बुझेर अघि बढ्नुपर्ने महतको विचार थियो ।



प्रतिक्रिया दिनुहोस्