Logo

२ नम्बर प्रदेशको मुख्यमन्त्रीमा राजपा र फोरमबाट ४ जनाको दौडधुप, कसले मार्ला बाजी ?



काठमाडौं, ११ माघ । राजपा र फोरम नेपालको गठबन्धनले २ नम्बर प्रदेशमा सरकार बनाउने निश्चित भएको छ । यो गठबन्धन निर्माण भएर निर्वाचनमा होमिँदै गर्दा सबैभन्दा ठूलो दलबाट मुख्यमन्त्री बनाउने सहमति भएको थियो । अहिले मुख्यमन्त्री को बन्ने भन्ने विषयले सरकार गठनमा समेत प्रभाव परेको छ ।

निर्वाचनमा गरिएकोजस्तो चुनावी भ्रद सहमति कार्यान्वयन नहुनेजस्तो देखिएको छ । प्रदेश सरकारको मुख्य मन्त्री बन्नको लागि अहिले मधेशवादी दलका केही नेताहरु दौडधुपमा उत्रिएका छन् ।

मधेशी जनताले राजपा र फोरमलाई मिलेर सरकार बनाउन र पार्टी एकता गरेर अघि बढ्नेगरि नै मत दिएको यी दुई दलका शीर्ष नेताहरुले बताउँदै आएका छन् । निकट भविष्यमा नै पार्टी एकता गर्नेगरि गृहकार्य भैरहेको उनीहरुले दाबी गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको मुख्यमन्त्रीको विवादले प्रष्ट पारेको छ ।

२ नम्बर प्रदेशमा कूल १०७ सिट छ र यहाँ सरकार निर्माण गर्न ५४ सिट आवश्यक पर्छ । मधेस केन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरमसँग ५४ सिट नै छ। फोरम नेपालले प्रत्यक्षमा २० र समानुपातिकमा ९ सहित कुल २९ सिट जितेको छ।

त्यस्तै राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० सहित २५ सिट हातपारेको छ। त्यसैले दुई नम्बर प्रदेशमा गठबन्धन कायम रहे सहज रुपमा राजपा–फोरमको सरकार बन्नेछ।

राजपाभन्दा ठूलो दल भएको कारणले पनि आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्री बन्नुपर्ने फोरम नेताहरुको जिकिर छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सह—अध्यक्ष राजेन्द्र श्रेष्ठले भनेका थिए,“हामी यो विषय राजपासँगको सहमतिमा टुँग्याउँछौं।”

तर राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले मुख्यमन्त्री र सरकार गठनबारे दुई दलवीच समझदारीबाट सबै कुरा टुँगो लगाउने भन्दै मुख्यमन्त्री फोरमलाई नै दिन सकिने भनेर आश्वस्त पार्न सकेनन् ।

संविधानतः प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्छ। संविधानको सोही प्रावधानकै कारण केन्द्रीय सरकारभन्दा पहिला प्रदेश सरकार गठन हुनेछ।

को—को छन् मुख्यमन्त्रीको दौडमा ? :

फोरमबाट उपाध्यक्ष लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, राजपाबाट महासचिव जितेन्द्र सोनल र अर्का महासचिव मनिष सुमन मुख्यमन्त्रीको दौडमा छन् ।

फोरमका उपाध्यक्ष राउतले सबै हिसावले आफू मुख्यमन्त्री हुन योग्य रहेकोले आफ्नो दाबी रहेको बताउँदै आएका छन् । त्यस्तै फोरमकै कोषाध्यक्ष यादवले पनि मुख्यमन्त्रीमा आफ्नो दावेदारी सार्वजनिक रुपमा प्रस्तुत गरिरहेका छन् ।

यता राजपाबाट मुख्यमन्त्रीका प्रबल दावेदार राजपाका महासचिव सोनलले पनि आफुलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन्। उनको गृहकार्य व्यापक देखिएको छ ।

राजपा शीर्ष नेताहरुले उनलाई मुख्यमन्त्रीमा ग्रिन सिग्नल दिएको राजपा निकट उच्च स्रोतले जनाएको छ। अर्का महासचिव सुमनले पनि मुख्यमन्त्रीको लागि आफ्नो तयारीलाई तिव्रता दिएका छन् ।

यी चार जनामध्ये कसले बाजी मार्ला ? भनेर अहिले भन्नु सान्दर्भिक हुँदैन् । तर मुख्यमन्त्रीमा राजपा र फोरमवीच निकै ठूलो विवाद रहेको यसले प्रष्ट देखिन्छ । दुवै दलका शीर्ष नेताहरुले मुख्यमन्त्रीको विषयमा आफूहरुवीच कुनै विवाद नभएको दाबी गर्दै आएका छन् ।

हिजोमात्रै क्लबको साक्षात्कारमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भनेका थिए,“राजपा र फोरमवीचको गठबन्धनमा कुनै विवाद छैन, खट्पट छैन, हामी सबै कुरा सहमतिमै टुँगो लगाउँछौैं।”



प्रतिक्रिया दिनुहोस्