Logo

कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने



काठमाडौं, १२ माघ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत्र ७ र ८ गते नुवाकोटमा हुने भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले उक्त राष्ट्रिय सम्मेलनबारे जानकारी गराएको हो । नेपाली कांग्रेसका कान्तिकारी नेता गिरीजाप्रसाद कोइरालाको ८ औं पुण्य तिथि (स्मृति दिवस) को अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा देशका सबै जिल्ला कार्य समितिका कोषाध्यक्षहरुको उपस्थिति रहने पनि समितिले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष गोविन्द पुडासैनीले हालै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका जनप्रिय निर्णयहरुको एमालेले विरोध गर्नुको कुनै तुक नभएको स्पष्ट पारे । उनले भने,‘वर्तमान सरकारले जनताको हितमा निर्णय गरेको छ, तर अहिले एमालेले बखेडा झिकेर विरोध गर्नुको कुनै औचित्य छैन।’

अध्यक्ष पुडासैनीले अघि भने,‘त्यतिवेला एमालेको ९ महिने अल्पमतको सरकारको पालामा बृद्ध भक्ता दिने निर्णय हुँदा हामीले कुनै विरोध गरेनौं, बरु उल्टै उक्त निर्णयको खुलेर स्वागत गरेका थियौं, तर अहिले हाम्रो पार्टी नेतृत्वको सरकारले ६५ वर्ष पुगेकाहरुलाई वृद्ध भक्ता दिने निर्णय गर्दा एमालेलाई के को टाउको दुखाई ? हामीले बुझ्न नसकेको यो कुरा ? यो त अचम्म नै भयो नि।’

पुडासैनीले अहिलेपनि कुनै एक पार्टीले बहुमत प्राप्त नगरेकोले कसको नेतृत्वमा सरकार बन्ने कुरा अहिले नै भन्न नसकिने पनि स्पष्ट पारे । उनले भने,‘अहिले केपी ओलीले तुरुन्त आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्छ भन्ने अभिव्यक्ति दिएर वर्तमान सरकारले गरेका महत्वपूर्ण निर्णयहरुको विरुद्धमा बोल्नु उचित छैन, कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन्।’

उनले कांग्रेसको कोषहरुलाई पारदर्शी राख्ने आफूहरुको मुख्य उद्देश्य भएकोले आफूहरु सोही अनुसार चल्ने बताए । उनले भने,“हामी बदलिन्छौं, कांग्रेस बदल्छौं” भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त राष्ट्रिय सम्मेलनले नेपाली कांग्रेसलाई नवजीवन प्रदान गर्न महत्वपूर्ण योगदान दिनेछ ।’

कार्यक्रममा रौतहटका कोषाध्यक्ष रामश्रेष्ठ साह, बैतडीका कोषाध्यक्ष रमेशदत्त पाण्डे, नुवाकोटका कोषाध्यक्ष महेन्द्र थिङले बोलेका थिए ।

धादिङका कोषाध्यक्ष तथा कोषाध्यक्ष राष्ट्रिय समितिका सह–संयोजक बाबुकृष्ण सापकोटाले आफूहरु नविन नेपालको समृद्धिको अभियान लिएर अघि बढिरहेको जनाउँदै भने,‘यही संकल्प गर्दै देशभरिका सबै जिल्ला कार्य समितिलगायत पार्टीका भातृ, भगीनी र शुभेच्छुक संस्थाहरुलाई पनि संमृद्धिको यो महाअभियानमा साथै लिएर हिड्न र हरेक पाइला एकसाथ अघि बढाउन आग्रह गर्दछौं ।’

कार्यक्रम सञ्चालन भने दोलखाका कोषाध्यक्ष कृष्णकुमार केसीले गरेका थिए ।

समितिद्धारा जारी गरिएको विज्ञप्तीको पूर्णपाठ :

प्रेस विज्ञप्ति

मितिः २०७४ माघ १२ गते, शुक्रबार

नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको

दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा
नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटको विदुरमा आगामी २०७४ साल चैत ७ र ८ गते सम्पन्न हुने भएको छ ।

नेपाली कांग्रेसका कान्तिकारी नेता श्री गिरीजाप्रसाद कोइरालाको ८ औं पुण्य तिथि (स्मृति दिवस) को अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा देशका सबै जिल्ला कार्य समितिका कोषाध्यक्षहरुको उपस्थिति रहने छ । यस पूर्व २०७३ साल पुष ८ र ९ गते नेपाली कांग्रेसका संस्थापक सन्तनेता श्री कृष्णप्रसाद भट्टराईको जन्मजयन्तिको अवसर पारेर कोषाध्यक्षहरुको पहिलो राष्ट्रिय सम्मेलन ११ बुंदे घोषणापत्र जारी गदैं काठमाडौंमा सम्पन्न भएको थियो ।

“हामी बदलिन्छौं, कांग्रेस बदल्छौं” भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त राष्ट्रिय सम्मेलनले नेपाली कांग्रेसलाई नवजीवन प्रदान गर्न महत्वपूर्ण योगदान दिनेछ । यस सम्मेलनबाट हामीले नेपाली कांग्रेसको जिल्ला र केन्द्रमा रहने कोष अर्थात आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी र जवाफदेही एवं पार्टीको नवजीवनका लागि योगदान दिन सक्ने बनाउने छौं ।

हामी नविन नेपालको संमृद्धिको अभियान लिएर अघि बढ्ने प्रण एवं संकल्प गर्दै देशभरिका सबै जिल्ला कार्य समितिलगायत पार्टीका भातृ, भगीनी र शुभेच्छुक संस्थाहरुलाई पनि संमृद्धिको यो महाअभियानमा साथै लिएर हिड्न र हरेक पाइला एकसाथ अघि बढाउन आग्रह गर्दछौं ।

प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट पारित भएको ११ बुंदे घोषणापत्रलाई अविलम्ब पारित गरि कार्यान्वय गर्नका लागि पार्टीको केन्द्रीय नेतृत्वसँग आग्रह गर्दछौं । साथै नेपाली कांग्रेसको निकट भविष्यमा हुने महासमिति बैठकमा निर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारीहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने ब्यवस्था मिलाउन पार्टीको केन्द्रीय कार्य समितिसमक्ष अनुरोध गर्दछौं । जय नेपाल ।

गोविन्द पुडासैनी
अध्यक्ष,

जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमिति



प्रतिक्रिया दिनुहोस्