Logo

केपी ओलीको पत्रकार सम्मेलन आफ्नै सहमतिमा भएको प्रचण्डको खुलासा



१३ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेको बताएका छन् ।

सरकारको निर्णयहरुबारे एमालेले पत्रकार सम्मेलन गरेर व्यक्त गरेको धारणामा माओवादीको सहमति रहेको रहेको बताउँदै उनले देउवा सरकारले जनमतको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले सरकारका पछिल्ला निर्णयमा एमाले गरम माओवादी किन नरम भयो भन्ने प्रश्नमा भने, ‘त्यो दिन म नेपालगञ्ज र भैरहवामा थिए, केपी जीले पत्रकार सम्मेलन गर्नुर्पयो भन्नुभयो, म आउन ढिला भयो । तर, मैले जे कुरा भन्नु छ तपाईले भन्दा हुन्छ भनेर सहमति दिएकै थिए ।’

देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुनर्विचार गर्ने उनले बताए ।

बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा आपत्ति नभएको तर, कामचलाउ सरकारले अनावश्यक काम नगरेको राम्रो हुने उनले बताए ।

प्रचण्डले नयाँ सरकार गठन अघि नै पार्टी एकता गर्ने गरी छलफल अघि बढेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्