Logo

सरकारमा रहने अन्तिम दिनसम्म पनि नियुक्ती लगायत अन्य महत्वपूर्ण निर्णयहरु गर्दै जान्छौं : मन्त्री यादव



काठमाडौं, १३ माघ ।कृषिमन्त्री एवम् नेपाली कांग्रेसक केन्द्रिय सदस्य रामकृष्ण यादवले वर्तमान सरकारले गरेका निर्णयहरु जनताको हितमा रहेकोले आफूहरुलाई देशभरिबाट स्यावासी आईरहेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार रहुञ्जेलसम्म आफ्नो अधिकार प्रयोग गरिने स्पष्ट पारे । उनले भने,‘हामी यो सरकारमा रहने अन्तिम दिनसम्म पनि निर्णयहरु गर्छौं, नियुक्ती गर्छौ, यो हाम्रो अधिकारको कुरा हो।’

मन्त्री यादवले आफूहरुले पूर्णरुपेण जनताको हितमा र समानताका आधारमा वृद्धभत्ताको लागि ६५ वर्ष पुगेकाहरुलाई दिने निर्णय गरेको विश्वास दिलाए । उनले भने,‘हामीले जनताको हितमा निर्णय गर्दा कतिपय पार्टी र यसका नेताहरु तर्सिरहेका छन्, तर्सिन अब कुनै आवश्यक छैन।’

वर्तमान सरकारले मुलुकमा शान्ति, स्थायत्वि र अमनचयन कायम गरेको प्रकाश पार्दै मन्त्री यादवले भने,‘स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा हेर्नुहोस् त, कतैपनि कुनै जनधनको क्षति भएन्, हामीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्यौं, यो सरकारले जहिल्यै पनि जनताको हितमा काम गर्दै आएको छ।’ उनले सरकारले राजिनामा नदिँदासम्म जनताको हितमा काम गरिरहने विश्वास पनि दिलाए ।

मन्त्री यादवले मुलुकको ढुकुटी जनताको लागि भएको भन्दै उनीहरुको हितमा खर्चिने आफूहरुको निर्णय भएको स्पष्ट पारे । उनले भने,‘जनताको ढुकुटी जनताको लागि हुन्छ, भुगोलको लागि होईन नि, वृद्धभत्ताको लागि हामीले औसत ६५ वर्षको उमेर तोक्यौं, यो निर्णय गर्दा देशभरिका जनताले स्वागत गरेका छन्, म पनि यही मञ्चबाट स्वागत गर्न चाहन्छु।’ त्यस्तै भुकम्पपीडितको लागि पनि ३ लाखबाट ४ लाख पुर्याईएको बताउँदै पीडितको हितमा वर्तमान सरकारले काम गरेको शाहीको स्पष्टोक्ति थियो ।

मन्त्री यादवले आफूहरुले गरेको निर्णयबाट राज्यको ढुकुटी समाप्त नहुने जिकिर गर्दै प्रश्न गरे ।‘१७ करोड एउटा व्यक्तिको उपचारमा खर्च भएको छ, तपाईहरुले राज्यको ढुकुटी कसले खर्च गरेको छ भनेर खोज्नुहोस् त।’

त्यस्तै उनले माओवादी सशस्त्र द्धन्द्धकालमा मारिएका निहथ्था व्यक्तिलाई सरकारले सहिद घोषणा गरेको पनि सुनाए । उनले भने,‘निर्दोष व्यक्तिलाई हत्या गरिएको थियो, सहिद घोषणा गर्नु के गलत थियो र ? छैन, हामीले जे निर्णय गर्यौं यो जनताको हितमा छन्।’

जनहितमा सरकारले निर्णयहरु गर्दापनि केही दलका नेताहरुले चौतर्फी विरोध मच्चाउनु गलत भएको तर्क गर्दै उनले मुलुक कलाकारहरुको हातमा जान लागेको उनको भनाई थियो ।

उनले भने,‘दश वर्ष अघि एउटा सिद्धान्तको कुरा गर्ने अनि अहिले आएर अर्को कुरा गर्ने काम भैरहेको छ, यसले के देखाउँछ भने मुलुक अब कलाकारको हातमा जाँदैछ।’ सरकार रहञ्जुलेसम्म जनताको हितमा काम गरिरहने उनले स्पष्ट पारे । उनले भने,‘सरकार पनि कामचलाउ हुन्छ र? कहाँ र कुन संविधानमा लेखिएको छ ? मलाई देखाईदिनुहोस्।’

त्यस्तै उनले आफूले किसानको हितमा काम गरिरहेकोले अहिले किसानहरुले राहत पाईरहेको विश्वास दिलाए । उनले भने,‘कृषिलाई व्यवसायिकरण गर्ने काम भएको छ, उत्पादनमुखी बनाईएको छ, हामीले किसानहरुलाई अनुदान दिएका छौं।’



प्रतिक्रिया दिनुहोस्