Logo

एमाले–माओवादीबिचको एकता प्रक्रिया यसकारण अन्यौलमा छ



१३ माघ, काठमाण्डौ । नेकपा एमाले र माओवादीबिचको पार्टी एकता प्रक्रिया पछिल्लो सयम ओझेलमा पर्दै गएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच पटकपटक छलफल भए पनि एकताका बारेमा ठोस निष्कर्ष अहिलेसम्म निकाल्न सकेका छन् ।

सार्वजनिक अभिव्यक्ति दिदा पार्टी एकता कसैले पनि भाँड्न नसक्ने बताइरहेका छन् । तर पटक पटकको छलफलले केही पनि निष्कर्ष निकाल्न सकेको छैन ।

प्रचण्ड र ओलीबिच भेटवार्ता हुनासाथ एकताका बारेमा केही निष्कर्ष निस्केला कि भन्ने अपेक्षा एमाले र माओवादीका नेता, कार्यकर्ता मात्रै होइन, आम जनताले गरेका हुन्छन् ।

तर दुई नेताबिचको छलफल होस् वा पार्टी एकता संयोजन समितिको बैठक, केवल राष्ट्रियसभामा उम्मेदवाको भागबण्डा, मुख्यमन्त्री प्रदेश सभामुखको भागबण्डा लगायतका विषयमा मात्रै छलफल केन्द्रित हुने गरेको छ ।

यसले दुई पार्टीबिच एकताभन्दा पनि भागबण्डाका आधारमा सत्ता चलाउनेतिर केन्द्रित भएको हो कि भन्ने आशंका उब्जिन थालेको छ ।
सार्वजनिक कार्यक्रममा दुवै दलका दोस्रो तहका नेताहरुले बोलेको कुरा सुन्दा पनि पार्टी एकता भइहाल्ला भनेर विश्वास गर्न सकिने अवस्था छैन ।

एमालेका नेताहरुले जनताको बहदलीय जनवाद छोड्न नसकिने, पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै ओली नै हुने जस्ता अभिव्यक्ति दिने गरेका छन् भने माओवादीले एमालेले अडान लियो भने पार्टी एकता हुन नसक्ने चेतावनी दिइरहेका छन् ।

माओवादीका नेताहरुले एकतापछि पार्टी अध्यक्ष प्रचण्डलाई नबनाउने हो भने एकता हुन सक्दैन भनेर भनिरहेका छन् ।

अर्कोतिर ओली र प्रचण्डबिचको छलफलमा पनि सिद्धान्त र पदीय भागबण्डाको विषयले प्रवेश पाउन सकेको संकेत अहिलेसम्म मिलेको छैन ।

जनताले मात्र होइन माओवादीले पनि ओलीलाई प्रधानमन्त्री स्विकार गरिसकेका छन् । यस्तो अवस्थामा दुई अध्यक्षबिचको छलफलमा ओलीले प्रचण्डलाई “म प्रधानमन्त्री हुने भएपछि तपाई पार्टी अध्यक्ष बन्नुस्” भन्न सक्ने कुरै भएन । तर ओलीले एकताका लागि प्रचण्डलाई अध्यक्ष दिन सक्नुपर्ने अवस्था छ ।

अर्कोतिर ओलीसँगको भेटमा प्रचण्डले पनि “म अध्यक्ष बन्छ” भनेर मुख खोल्न सकेको देखिदैन ।



प्रतिक्रिया दिनुहोस्