Logo

नयाँ सरकारका सबै निर्णय सही, अहिलेको सरकारका सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा



१४ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही र जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुन्छ भन्ने तरिकाले प्रचार गरिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रका लागि महत्वपूर्ण हुन सक्ने निर्णयहरु गर्नु स्वभाविक भएको बताए । “जबसम्म सरकार रहन्छ, तबसम्म राष्ट्रहितका निर्णय गर्न सक्छ ।” प्रवक्ता शर्माले भने ।

कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई थप निरन्तरता दिने बताइएको छ ।

निर्वाचन आचारसंहिता लागेयता सरकारलाई दैनिक प्रशासन चलाउनेबाहेक थप संवैधानिक तथा कानुनी अधिकार छैन । तर प्रधानमन्त्री शेरबहादुर देउवा निकै अघि बढेर राज्यको ढुकुटीमै दूरगामी पार्ने सस्तो लोकप्रियताका कार्यक्रममा अग्रसर भइरहेको समाचाहरु आइरहेका छन् । समाचार अनुसार, त्यस्ता दर्जनभन्दा बढी प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन छन् । तिनलाई जानुअघि टुंग्याउने उनको मनसाय छ ।

६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने निर्णयबारे मिश्रित प्रतिक्रिया आइरहेको भन्दै प्रवक्ता शर्माले एमालेले सुरु गरेको वृद्धभत्तालाई विगतमा कांग्रेसले नै ७५ वर्षबाट ७० मा झारेको बताए ।

कुनै निर्णय संविधान विपरित छन् भने आगामी सरकारले खारेज गर्न शर्माले चुनौति दिएका छन् । देश र राष्ट्रको हितमा हुने गरी भएका निर्णयलाई आगामी सरकारले कार्यान्वयन गर्नुपर्ने उनको तर्क छ ।

अहिलेको सरकारले गरेको कामलाई अनैतिक भनिएकोप्रति आपत्ति जनाउँदै उनले भने, “सरकारले संविधान विपरित, दीर्घकालिन हितविपरित र लोकतन्त्रलाई असर गरेको भए अनैतिक भन्न मिल्छ ।”

कांग्रेसले राष्ट्रको ढुकुटीमा पैसा बढाउनका लागि मूल्य अभिवृद्धि करको नीति ल्याएर अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै उनले ६५ वर्ष पुगेकालाई भत्ता दिदा ढुकुटी रित्तिन्छ भनेर आलोचना गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्