Logo

भ्रष्टाचारको पैसा वैधानिक बनाउने ओलीको चाहना, स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने



१५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका नवनिर्वा्चित पदाधिकारीहरुलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले उद्योगीहरुको मागअनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका हुन् ।

ओलीले नयाँ सरकारले मनी लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) सम्बन्धी नीतिमा परिर्वतन गर्न सक्ने संकेत गरेका हुन् ।
सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीति ‘मुसा निस्कने दुलामा साँचो थापे जस्तो’ मात्रै भएको ओलीको प्रतिक्रिया छ ।

अहिलेको नीति मुसो निस्किने दुलामा साँचो थापेर बसेजस्तो भएको र यसले लुकेको पैसा बाहिर नआउने तर्क ओलीको छ ।
उद्योगीहरुसामू रहेको अण्डरग्राउण्ड मनी बाहिर ल्याउन सुधार गर्नुपर्छ कि भन्दै एमाले अध्यक्ष ओलीले लुकेको पैसा लगानी होस् भन्नका लागि नरम बन्नुपर्ने बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले एउटा निश्चित समय सीमा दिएर सम्पत्ति अभिलेखीकरण गर्न दिने संकेत गरेका छन् ।
नेपालका उद्योगी व्यवसायीहरुले एकपटकका लागि आफ्नो सम्पत्ति अभिलेखीकरण गर्न दिनुपर्ने माग गर्दै आएका छन् । यसका लागि पटकपटक लबिङ पनि भएको थियो ।

एमाले अध्यक्ष ओलीले सजिलैसँग एकचोटिका लागि स्रोत नखुलेको पैसालाई शुद्धीकरण गर्दा के हुन्छ भन्ने प्रश्न उठाए पनि यो त्यति सजिलो विषय चाहिँ होइन ।

मनी लाउण्डरिङसम्बन्धी कानून नेपालले आफ्नो देशका लागि मात्रै बनाएको नभई अन्तरराष्ट्रिय समुदायसँग जनाएको प्रतिवद्धतामा आधारित छ ।

नेपालमा भ्रष्टाचारीहरुले अकूत सम्पत्ति आर्जन गर्ने र त्यसलाई चोख्याउन र शुद्धीकरण गर्नका लागि विभिन्न उद्योग व्यवसायमा लगाउने क्रम बढिरहेको छ । एकपटकका लागि उनीहरुको पैसालाई शुद्धीकरण गर्ने हो भने अहिलेसम्मको भ्रष्टाचारले समेत बैधानिकता पाउन सक्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्