Logo

निजी मेडिकल कलेजलाई कारवाहीको माग



काठमाडौं,१५ माघ । एमबीबीएस लगायतका शैक्षिक कार्यक्रममा नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेजलाई कारवाही गर्न सोलिडारिटी फर डा केसी अलायन्सले माग गरेको छ ।

ठगी गर्ने मेडिकल कलेजहरलाई कालोबजारी तथा ठगी मुद्दामा तत्काल कारवाही अघि बढाउनुपर्ने अलायन्सको माग छ । निजी मेडिकल कलेजहरुले अवैधरुपमा लिने शुल्क नतिर्न एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई अलायन्सले आग्रह गरेको छ ।

योग्य विद्यार्थीलाई छाडेर मोलमोलाइका आधारमा कमजोर विद्यार्थीलाई निजी कलेजले भर्ना लिने गरेको भन्दै अलायन्सले विरोध जनाएको छ । अलायन्सले विद्यार्थी संगठनहरु एक भएर यसको विरोध आग्रह गरेको छ ।

यसअघि काठमाडौं विश्वविद्यालयका पदाधिकारीले सरकारले तोकेभन्दा बढी शुल्क निर्धारण गरेको तथा विराट र नोबेल मेडिकल कलेजले अवैधरुपमा मेडिकल काउन्सिलले दिएकोभन्दा बढी सिटमा विद्यार्थी भर्ना लिएको अलायन्सको आरोप छ ।

मेडिकल काउन्सिलले सीट क्षमताभन्दा बढी भर्ना भएका विद्यार्थीलाई लाइसेन्स नदिने घोषणा गरिसकेको भन्दै अलायन्सले विद्यार्थी तथा अभिभावकलाई समयमै भर्ना रद्द गर्न आग्रह गरेको छ ।

त्रिवि पदाधिकारीहरुले आइओएमका डिनको कार्य सम्पादनमा निरन्तर अवरोध गरिरहेको भन्दै डा केसी अलायन्सले अवरोध रोक्न त्रिवि पदाधिकारीको ध्यानाकर्षण गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्