धनराज वास्तविक
सबैभन्दा पहिले ज्ञात अग्यात शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली । आज कै दिनमा नेपाली वीर शहीदहरुले जीवनको आहुत दिएर लोकतन्त्रको जग हाल्ने काम गरेका थिए । आजको दिनमा हामीले शहीदको शालिकमा पुगेर पुष्पगुच्चा र अविर चढायौँ । कतिले सामाजिक सञ्जालमा दुईशब्द कोरेर सम्झियौँ । यो कुरा धेरैले स्वीकार गर्न सक्दैनन तर पनि भन्छु । अझैपनि हाम्रो मुलुकमा शहीदको सपना साकार भएको छैन् । केही वर्ष अघि जनगायक बर्दी पंगेनीले गायको ‘अझै नि निरंकुश ढल्या छैन है, जनताले भने झै भाको छैन है’ यो गीतले उद्घोष गरेको आन्दोलन र आग्रह बाँकि छ ।
जनताले भनेको जस्तो, शहीदको रगतले खाजेको लोकतन्त्र आजको दिनमा पनि आएको छैन् । हाम्रो देशमा जनताले ल्याएको लोकतन्त्र जनताको लागि नभई केही सिमित व्यक्तिको लागि मात्रै आएको भान हुन्छ । जनताले उही पुरानो दुःख खेपिरहेका छन् । उनै गायक पंगेनीले अर्को गीत पनि गायका छन् ‘खोई हाम्रो दिलमा घामै लायन, जुन सरकार आएपनि गरिवको सरकार आएन’ यस गीतले भनेको जस्तै भएको छ भन्दा अन्यथा नहोला । आजको दिनसम्म पनि राज्यसँग देशको लागि जीवन आहुती दिने महान शहीदहरुको यकिन तथ्य छैन् । कुनै एउटा व्यापारी मर्दा शहीद घोषणा गरिन्छ । एउटा दुर्घटनामा मरेको मानिसलाई शहीद घोषणा गरिन्छ । यस्तो प्रकारको चलनले सच्चा सपुत र शहीदको अपमान हुने स्तम्भकारको ठहर छ । शहीदको बारेमा आजलाई यति नै ।
अनेकन कुरामा मानवले सहमति र विमती राख्न सक्छ । तर सत्यको विपक्षमा मत राख्नुलाई हाम्रो समाजले राम्रो भन्दैन । सत्यबोल्न र सहि कुरा छुट्याउन सक्नेले बिरोध गर्छ । आलोचना गर्छ । कि अरुको अस्तित्वलाई स्वीकार गर्न नसक्नेले बिरोध गर्छ । एउटा पंत्तिलाई यहाँ उदाहरणको रुपमा उल्लेख गर्न मन लाग्यो । ‘जोईमरि भनेर चिन्ता होईन काल पल्क्यो भन्ने चिन्ता हो ।’ मेरो यस पंत्तिसँग जहिले पनि विमति रहँदै आयो । आज पनि विमति छ र भोलि पनि विमति रहनेछ । पुर्खाले निर्माण गरेको केही कुराहरु ग्रहरण गर्न लायक छन् । केही कुरा ठाउँको ठाउँमा छोड्नुपर्ने खालका छन् । मैले उल्लेख गरेको यूक्ति छोड्नुपर्नेमा पर्छ । आजको समयमा पनि धेरैको मुखबाट यो यूक्ति वाचन भएको भेटिन्छ ।
श्रीमती मरेकोमा चिन्ता नमान्ने र काल पल्केकोमा काल्पनिक चिन्ता गर्ने कस्तो खालको लोभ हो ? कस्तो खालको चरित्र हो ? कस्तो खालको चिन्ता हो ? जोई मरेपछि चिन्ता नगर्नुको भित्रि रहस्य अर्कि जोई पाईहालिन्छ नि ज्योई मरेकोमा किन चिन्ता गर्नु, बरु काल पल्केकोमा पो चिन्ता गर्नुपर्छ भन्ने संकेत हो । त्यसैका कारण पंक्तिसँग मेरो विमति हो । अर्थात यो यूक्ति महिलामाथि अन्याय र विभेदपूर्ण शब्द हो । त्यसैले पनि म यस यूक्तिसँग विमति राख्न योग्य छु । आजको दिनसम्म पनि पुरुषले नारीमाथि जारि राखेको विभेद र अन्यायको एउटा उदाहरण यो युक्तिले पुष्टि गर्छ । मानिस मर्नु नै चिन्ता र दुःखद कुरा हो भन्ने कुराको महसुस हुनुपर्छ ।
हिजो र भोलि त कल्पिना मात्रै हो । वर्तमानमा मावन हुनुको नाता पूराको पूरा देखाउनु पर्छ । जमनामा बिचार नगरी निमार्ण गरिएका जुनसुकै पनि कार्यहरुको विकल्प थिए । तर विभेदको मानसिकताबाट ग्रसित भएर मर्जित हिसावमा तय गरिए । उल्लेखित यूक्तिलाई पोई मरेकोमा चिन्ता होईन काल पल्केकोमा चिन्ता हो भन्न सकिन्थ्यो होला । तर त्यसो भनिएन । त्यसो भन्दा मात्रै पनि महिलाको सम्मान हुन्छ भन्ने मेरो तर्क हुँदै होईन । मान्छे जो कोही मर्दा चिन्ता र दुःख उत्पन्न हुनुपर्छ । बरु यस्ता अनर्थ राख्ने शब्दहरु प्रयोग नगर्दा राम्रो हुन्छ । एकादेशको कथासँग जोडिएको पंत्ति जोई मर्दा चिन्ता नगर्ने, जोइमरेको केही महिना दिनमै अर्की श्रीमती ल्याउन पाईने र ल्याउने मानसिकता जिवित छ । बरु यस्ता किसिमका मानसिकतालाई नैतिक रुपमा हत्या गर्नुपर्छ ।
राजनीतिमा काल पल्क्यो
उल्लेखित यूक्ति नेपाली राजनीतिक क्षेत्रमा प्रशस्त देखिन थालेको छ । हाम्रो पुस्ता २०५२ साल पछिको नेपाली ईतिहासलाई राम्ररी देखे भोगेको पुस्ता हो । मैले सँधै भन्ने गरेको छु, बाजेले घ्युउ खाएका थिए भन्दै आज आएर हात सुघाँउने कुरा कदापि नगरौं । ईतिहासको ब्याज खाएर वा धम्कि दिएर आफूलाई योग्य प्रमाणित गर्नु मुर्खता र अस्वभनिय दुवै हो । त्यस कारण राजनीति भन्ने कुरा आफ्नो क्षमता र जनताको मतको आधारमा गर्नुपर्छ । जनमताको चाहना र मुलुकको आवश्यकता अनुसार गर्नुपर्छ । तर हाम्रो यो मान्यता पालना गर्ने नेपालमा कति नै संख्या होला र ? लोकतन्त्रले सबै मानिसलाई उदारको बाटोमा हिडाउनु पर्ने हो । यसरी उदार र फराकिलो बाटोमा हिडाउँने अभ्यास लोकतन्त्रले गराएको खण्डमा वर्तमान समयमा हामीले जप्दै गरेको समाजवाद आउन सम्भव छ ।
लोकतन्त्रलाई लोभतन्त्रको गहिरो खाल्डोमा हालेको खण्डमा समाजवाद त के कुरा कोहीसँग धेरै धन भएर राख्न नसक्ने कसैले खान नपाएर मर्ने स्थितिको सामना गर्नुपर्ने निश्चित छ । हामीले अभ्यास गरिरहेको लोकतन्त्र लोभतन्त्रमा परिणत हुने आँटेको चिन्ता कसैलाई छैन् । उही जोई मरेको भन्दा काल पल्केको चिन्ता ठ्याक्कै मिल्छ । आफू र आफ्न्त भन्दा परको कसैले अवसर पाएको खण्डमा लोकतन्त्र सकिने चिन्ता गरिएको पाईन्छ । यो कस्तो खालको चिन्ता हो ? यो कस्तो खालको मानसिकता हो ?कानुनले दिएको अधिकारलाई आफन्त र वरिपरिकालाई संरक्षण गर्ने लोभतन्त्रले लोकतन्त्रलाई कम्जोर बनाउने निश्चित छ । समानुपातिक कोटा र आरक्षणमा सके आफू नसके आफ्ना वरिपरिकालाई संरक्षण गर्ने घिन लाग्दो लोभले हरेक राजनीतिक दलहरुको अनुहार विरुप भईसकेको सत्य हो ।
अर्को कुरा आफूले गरेका हरेक कार्यहरु सबै भन्दा उत्कृष्ट र अरुले गरेको कुनैपनि काम सहि होईनन् भन्ने खालको मान्यताले ग्रस्त हाम्रो नेपाली राजनीतिलाई नजिकबाट भोग्नेहरुले नेपालको लोकतन्त्र लोभतन्त्रको घेरामा फसेको सहज अनुमान लगाउन सक्छन् । लोभले लाभ त मिल्ला तर लाभले लाभ नै बाँकि राख्न सक्ने कुरा निश्चित हुन सक्दैन । विलापमा परिणत पनि गराउन सक्छ । अरुको त के कुरा सडक संघर्षको मैदानबाट संसदमा पुगेकाहरुबाट नै लोकतन्त्रलाई लोभतन्त्रमा रुपान्त्रित गर्ने खालको नियतिलाई सामान्य रुपमा लिन मिल्दैन । लिन सकिदैन पनि ।
नेपालमा अरु धेरै पेसाहरु छोडेर राजनीतिमा होमिनेहरुको संख्या कम छैन् । राजनीति सबै नीतिको पनि नीति हो भन्ने मान्यता सबैले थाह पाएका छन् । तर राजनीति कसरी गर्नुपर्छ ? राजनीतिक कसरी सम्भव छ ? कसरी राजनीतिलाई समुदायको हितमा केन्द्रित गर्न सकिन्छ ? कसरी राजनीतिमा मानिस सफल बन्छ ? भन्ने कुरा धेरैलाई थाह छैन । त्यसैले हाँसेर राजनीतिक तालमा हाम फालेको मानिस निथु्रक भिजेर रुँदै फर्किन वाध्यहुन्छ । नेपाली राजनीतिमा हाम फालेका जतिले सफलता हात पार्न सक्दैनन् । राजनीतिमा सफल हुनको लागि धरै कुरामा निपूर्णता चाहिन्छ । सबै भन्दा पहिले त हाम्रो मुलुकको लोकतन्त्र लोभतन्त्रबाट जोगिनु पर्छ । दुर हुनुपर्छ । लोभतन्त्रले नेपालको राजनीतिलाई नमजाले गाँजेको छ । अबका दिनहरुमा राजनीतिक कर्मीहरुले सजक हुनुपर्ने देखिन्छ ।
वर्तमान स्थितिमा राजनीतिक पार्टी होस् या राजनीतिक नियूक्तिहरु सके आफन्तलाई भर्ति गराउने नभए पैसामा सरकारी पदहरुलाई लिलाम गर्ने रित बसेको छ । हालसालै सम्पन्न भएका हरेक निर्वाचनका उम्मेदवारको सम्झना गर्ने हो भने प्रतिनिधि सभा र प्रदेश सभाको आगामी पाँच वर्षे कार्यकाल भएको कारण पाँचवर्षसम्म राज्यको पैसा काम गरि नगरि खान पाईने लोभले नाङ्गो बनाएको कुरा लुकाएर लुक्दैन ।
लोकतन्त्रमा यस्ता प्रकारका विशेषताहरु देखिने थाले भने सहज अनुमान लगाउन सकिन्छ कि लोकतन्त्र लोभतन्त्रको धरापमा पर्यो भनेर । जव लोकतन्त्र लोभतन्त्रमा परिणत हुन्छ अनि राष्ट्र गरिव हुन्छ । व्यक्ति धनी हुन्छ । विकसित देशमा घर लगाउने अनि राजनीति र राहत बाड्न नेपाल फिर्ने नेपालीहरुको संख्यामा बृद्धि हुन्छ । आज भोलि पनि यस्ता खाले विशेषताहरु देख्न पाईन्छ । समाजवादले राष्ट्र र जनताहरुलाई माथि उठाउछ । सबै प्रकारका सम्पतिहरुमा जनताको अधिकार रहन्छ । सबै धनी हुन्छन । सबै गरिव हुन्छन । समाजवादले यहि परिकल्पना गर्दछ । यस्तो खाले समाजवादको असली रुप देख्नको लागि केही समय कुर्नै पर्छ ।