Logo

अब बन्ने सरकार अनुशासित बन्नुपर्छ, धेरै महत्वकांक्षी बन्नुहुँदैन् : पूर्व गभर्नर क्षेत्री



काठमाडौं, १६ माघ । पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अनौपचारिक अर्थलाई औपचारिक बनाउनको लागि सरकारले साँच्चिकै गम्भिर पहल लिने हो भने एमाले अध्यक्ष ओलीले बोलेको कुरा स्वागतायोग्य रहेको बताए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘परम्रागत रुपमा ७० प्रतिशत नेपालमा अनौपचारिक अर्थतन्त्र छ, यसको लागि एउटा बाटो खोल्नुपर्छ, यदि ओलीले त्यो हिसाबले भनेको हो भने यो स्वागतयोग्य कुरा हो ।’

क्षेत्रीले पूर्व अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा ५० प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको भनेर सार्वजनिक अभिव्यक्ति दिएको कुरा ‘अन रेकर्ड’ रहेकोले अहिले आफूलाई यो साँचो लागेको सुनाए । उनले भने,‘५० प्रतिशतमात्रै होईन अझै बढि नै छ जस्तो मलाई लाग्छ।’

त्यस्तै तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले र डा. बाबुराम भट्टराईले पनि निश्चित कर लिएर अनौपचारिक धनलाई औपचारिक बनाउन सकिने प्रस्ताव राखेकोको उनले उल्लेख गरे ।

उनले अहिलेको सरकार दुरदर्शी नभएको आरोप लगाए । ‘देउवा सरकारले धमाधम निर्णय गरेको छ, यसले मुलुकमा साँढे ५ खर्बको थप दायित्व बढेको छ, ६० अर्ब त स्वेच्छिक अवकाशको नाममा र ६० अर्ब ६५ वर्ष पुगेकाहरुलाई वृत्त भत्ताको नाममा, यस्तै हो भने नेपालले आर्थिक रुपमा घुँडा टेक्ने अवस्था आउन सक्छ।’

मुलुक संघीय संरचना अनुसार अघि बढेको र तीन तहको सरकार भएकोले खर्च बढ्ने कुरा स्वभाविक भएको उनको तर्क थियो ।

यसर्थ अब बन्ने सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,‘अब बन्ने सरकार अनुशासित बन्नुपर्छ, जनताको हितमा निर्णय गर्नुपर्छ, धेरै महत्वकांक्षी बन्नुहुँदैन्, खर्च गर्न नसक्ने कुरामा हात हाल्नुहुँदैन्।’ अहिले त केन्द्रको सरकार पनि घाटामा रहेको उनले जनाए ।

क्षेत्रीले भने,‘अहिले सरकारले १ खर्ब ४५ अर्ब आन्तरिक ऋण लिएको छ, एक खर्ब सकियो, अब १५ अर्बमात्रै बाँकी छ।’ उनले अब बन्ने सरकारले विवेक पुर्याएर निर्णय गर्नुपर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्