Logo

मोदीको के सन्देश लिएर आउँदैछिन् सुष्मा स्वराज ?



काठमाडौं, १६ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर काठमाडौं आउने भएकी छिन् ।

विदेशमन्त्री स्वराज आकस्मिकरुपमा नेपाल भ्रमणमा आउने भएपछि अहिले काठमाडौंको राजनीति तातेको छ । उनी विहीबार (१८ माघ) नेपाल आउन लागेकी हुन । एक दिने नेपाल बसाईपछि उनी माघ १९ गते स्वदेश फर्कने कार्यक्रम सार्वजनिक भएको छ ।

खासगरी नेपालमा निर्वाचन सम्पन्न भएपछि भारतले नेपाललाई स्थायी सरकार बन्ने भएकोले विशेष महत्व दिएको छ । यसको पछिल्लो उदाहरण हो–एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक महिनामा दुई पटक फोन गर्नु र बधाई दिनु नै हो ।

दुई दिने काठमाडौं बसाईका क्रममा उनले विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग द्विपक्षीय हितका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाईसकेको छ। नयाँ सरकार बन्न लागेका बेला हुन लागेको विदेशमन्त्री स्वराजको भ्रमणलाई भारतीय विदेश मन्त्रालयले द्विपक्षीय भेटघाटको परम्पराको रुपमा व्याख्या गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा यस्तो भ्रमणले द्विपक्षीय सहकार्यलाई बृद्धि गर्नुका साथै सम्बन्धका विविध क्षेत्रलाई अरु बलियो बनाउने उसले बताएको छ।
भारतीय विदेश मन्त्रालयले यस्तो व्याख्या गरेपनि परराष्ट्र मन्त्रालयका अधिकारीले यो भ्रमणलाई स्वभाविक रुपमा लिएका छैनन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘एउटा सरकार विदा भएर अर्को सरकार बन्न लागेका बेला हुन थालेको यो भ्रमण स्वभाविक छैन।’ परराष्ट्र मन्त्रालयका ती अधिकारीका भनाईमा, ‘नयाँ सरकार बनेपछि आएको भए त्यसलाई स्वभाविकरुपमा लिन सकिने थियो । तर त्यस्तो भएन।’

भारतले नेपाललाई आर्थिक रुपमा समृद्धि भएको देख्ने चाहना राखेको छ । नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा भारतले नेपाललाई विशेष महत्व दिनुको प्रमुख कारण नै मोदीको नेपालप्रति गहिरो सद्भाव नै हो ।

उनले नेपाललाई आर्थिक रुपमा समृद्ध भएको हेर्न चाहेका छन् । सोही अनुरुप मोदीले नेपालमा वाम गठबन्धनको पाँच वर्षको लागि सरकार बन्ने निश्चित भएकोले मोदीले विकास साझेदारमा काम गर्न चाहेका छन् ।

यही पेरिफेरिमा मोदीले विदेशमन्त्री स्वराजलाई नेपाल भ्रमणमा पठाउन लागेका हुन् । स्वराजले मोदीको विशेष सन्देश बोकेर आउने भारतीय उच्च अधिकारीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्