Logo

प्रधानन्यायाधिश पराजुलीमाथि ज्यान मार्ने धम्कीबारे अनुसन्धान सुरु, कल डिटेल मागियो



१७ माघ, काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान प्रक्रिया सुरु भएको छ । प्रहरी छानविनको घेरामा परेका पराजुलीको छानबिन महानगरीय प्रहरी परिसर, काठमाडौंले गर्ने भएको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै निवेदन दिएका थिए ।

निवेदन प्राप्त भएलगत्तै जिप्रका काठमाण्डौले छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको हो । पहिलो चरणमा भण्डारीको निवेदनमा भनिएजस्तो सुरक्षा थ्रेट हो वा होइन भन्ने विषयमा छनबिन हुने छ ।

अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गरेका छन् र कल डिटेल मगाउन माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीले तोक लगाएर पठाएपछि परिसरले सम्वन्धित निकायसँग कल डिटेल मागेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीका विवादित विषयमा बहस गरेपछि आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको भन्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए ।

डा. गोविन्द केसीविरुद्दको अपहेलना मुद्दामा केसीका पक्षाबाट बहस गरेका भण्डारीलाई बहस सकिएकै दिनदेखि धम्की आएको निवेदनमा उल्लेख गरेका छन्। उनले सोही दिन साँझ ५ बजेतिर ९८५२०३१६६६ को नम्बरबाट ज्यान मार्ने धम्की आएको निवदेनमा उल्लेख गरेका छन् ।

भण्डारीले ज्यानको तलमाथि भए प्रधानन्यायाधीश गोपाल पराजुली जिम्मेवार हुने समेत निवेदनमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्