Logo

फागुणमा मोदीको ‘सरप्राईज नेपाल भिजिट’ !



ऋषि धमला : काठमाडौं, १७ माघ । नेपालमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने पुर्व सन्ध्यामा भारतीय विदेश विदेशमन्त्री सुष्मा स्वराज भोलि नेपाल भ्रमणमा आउँदैछिन् । उनको भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिईएको छ ।

नेपालमा तीनै चरणका निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयनको मार्गमा राजनीतिक अघि बढिरहेको सन्दर्भमा अब पाँच वर्षको लागि स्थायी सरकार बन्ने भएको छ । यही सन्र्दभमा मित्र राष्ट्र भारतले नेपालसँग विशेष किसिमको सम्बन्ध राखेर अघि बढ्ने संकेत गरिसकेको छ ।

भारतीय विदेशमन्त्री स्वराज भोलि १ फेब्रुअरीमा दुई दिने भ्रमणमा काठमाडौं आउने भएसँगै कुटनीति जगतमा उनको भ्रमणबारे चर्चा सुरु भैसकेको छ । उनको भारतीय विदेश मन्त्रालयले सोमबार साँझ उच्चतहका भ्रमणलाई निरन्तरता दिंदै विदेशमन्त्रीको नेपाल भ्रमण हुन लागेको औपचारिक जानकारी गराएको हो । बिज्ञप्तीमा नेपाल र भारतबीच नियमित उच्च तहका भ्रमण आदानप्रदानको परम्परालाई धान्दै भ्रमण हुन लागेको उल्लेख छ । त्यस्तै, विदेशमन्त्री स्वराजको भ्रमणले विभिन्न क्षेत्रहरुबीच नेपाल र भारतको द्विपक्षीय विस्तारित साझेदारिता र सम्बन्धलाई थप बलियो पार्नेमा पनि भारतले जोड दिएको छ ।

खासमा भारतमा प्रधानमन्त्रीको रुपमा मोदीको उदयसँगै उनले छिमेकी मित्रराष्ट्रहरुलाई उच्च महत्व दिने सार्वजनिक रुपमै घोषणा गरे । आफ्नो सार्वजनिक अभिव्यक्तिसँगै उनले कार्यान्वयनतर्फ आफूलाई खरो रुपमा उतारे । सोही अनुसार उनी नेपाल भ्रमणमा पनि आए । उनको भ्रमणमा नेपालीले वाहवाह दिए । उच्च सम्मान दिए । १७ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेर द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाई प्रदान गरे । त्यसपछि नेपाल र भारतवीच उच्चस्तरीय भ्रमणहरु लगातार भैरहे । यो वीचमा द्धिपक्षीय सम्बन्धमा उतारचढाव नआएका होईनन्, तर सम्वाद र कुटनीतिक छलफलबाट ती समस्याहरु हल भएका छन् ।

भारत मामिलाका नेपाली जानकारहरुले भोलि हुने स्वराजको दुई दिने नेपाल भ्रमणले नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने अवसरहरु खोल्ने विश्वास दिलाएका छन् । स्वराज आँफै पनि नेपालप्रति अत्यन्तै चासो राख्ने कुटनीतिज्ञको रुपमा चिनिन्छन् । उनी मोदीको विशेष दुतको रुपमा मानिन्छन् । भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीसँगको सम्बन्धलाई विशेष महत्व दिएका छन् ।

नेपालमा निर्वाचन सम्पन्न भएलगत्तै उनले प्रमुख दलका शीर्ष नेताहरुलाई वान टु वान फोनवार्ता गरेर बधाई दिए । तर यो वीचमा उनले एमाले अध्यक्ष ओलीलाई दुईपटक फोन गरे । बहाना थियो–ओलीको स्वास्थ्य अवस्था बुझ्नु । तर उनले ओलीलाई नेपालमा भावी प्रधानमन्त्रीको रुपमा चित्रण गरेर व्यक्तिगत सम्बन्धलाई स्थापित् गरिदिए । उनले ओलीलाई प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा आउन निम्तो नै दिए ।

मोदीको चाहना यसरी अभिव्यक्त भएको थियो कि संविधान जारी भएता जाममा फसेको द्धिपक्षीय उच्चस्तरीय भ्रमण सुचारु गराउनु नै हो । यसको लागि उनले आँफैले पहलकदमी लिए । ओली लगायत देउवा र प्रचण्डलाई बेग्लाबेग्लै फोन गरेर बधाई दिए । अब नेपालको आर्थिक समृद्धिमा भारतले खुलेर सहयोग गर्ने उनको वचनबद्धता थियो । यसको तीन वटै पार्टीका प्रमुखहरुले स्वागत गरेका थिए ।

मोदीको चाहना नेपाल आर्थिक समृद्धि भएको हेर्नु छ । उनले त्यसको लागि निकै पहलकदमी लिएका छन् । जस्तो उनले सानो सानो कुरामा पनि आँफै चासो व्यक्त गर्ने गरेका छन् । उनी शीर्ष तहमा प्रत्यक्ष सम्बन्ध कायम राख्न रुचाउने भारतीय नेताहरुको अग्र सुचिमा छन् ।

कतिपयले ओलीसँग सम्बन्ध सुधारबारे मोदीको पछिल्लो प्रयासलाई नेपालसँगको विशेष सम्बन्धको रुपमा समेत चित्रण गरेका छन् । ओलीले नै एक पत्रकार सम्मेलनमा मोदीको फोन स्वागतयोग्य भएको टिप्पणी गरेका थिए । आफू पनि मोदीसँग सहकार्य गर्न ईच्छुक रहेको ओलीले बताईसकेका छन्।

मोदी–ओली सम्वादको लागि नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले पनि निकै ठूलो भूमिका निर्वाह गरेका थिए । उनको कुटनैतिक प्रयास सफल रहेको भन्नेहरुपनि प्रशस्तै छन् । निर्वाचनपछिको नयाँ परिस्थिति अनुसार भारतले आफूलाई प्रस्तुत गरिरहेको छ । नेपालको विकसित राजनीतिक घट्नाक्रम र सिनलाई राजदुत पुरीले मोदीलाई सन्देश प्रवाह गरिरहेका छन् । राजदुत पुरीको अनुसार भारत नेपाललाई जहिल्यैपनि सहयोग गर्न आँतुर रहेको छ ।

पुरीले पछिल्लोपटक रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा समेत भनेका थिए,‘नेपालमा अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आँतुर छ, हामी नयाँ सरकारलाई जस्तोसुकै सहयोग गर्नपनि तयार छौं।’ उनको यो अभिव्यक्तिले आगामी दिनमा नेपाल–भारत कुन दिशामा र कुन वातावरणमा अघि बढ्छ भन्ने स्पष्ट मार्ग दिईसकेको छ । भारतले नेपाललाई जहिल्यैपनि समृद्ध भएको हेर्न चाहेको छ ।

यही विकसित राजनीतिक सिनलाई मध्यनजर गर्दै मोदीले नेपालसँगको सहकार्यलाई तिव्रता दिएका छन् । यसको निरन्तरताको लागि भोलि विदेशमन्त्री स्वराज नेपाल आउँदैछिन् । सम्वभत् : नेपालमा अब करिब एक महिना भित्रै नयाँ सरकार बन्ने देखिन्छ। भारतीय प्रधानमन्त्री मोदी पनि नेपाल भ्रमणमा फागुणमै आउन सक्ने संकेतहरु छन् ।

उनी भारतीय लगानीमा निर्माण अरुण तेस्रो जलविद्युत आयोजनाको उद्धघाटन गर्न आउने कार्यक्रम यसअघि पनि सार्वजनिक भैरहेका छन् । तर, उनी कहिल्यै आउने भन्ने कुरा एकिन थिएन् । अहिले नेपालमा वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्नै लागेको बेला मोदीले सरप्राईज दिने हुन कि भन्ने पनि चर्चा सुरु भएको छ । जे होस्, मोदीले नेपाललाई विशेष प्राथमिकतामा राखेर अघि बढ्न चाहेका छन् ।

मोदीको एकमात्रै चाहना छ : नेपाल र भारतवीचको द्धिपक्षीय सम्बन्ध अब आर्थिक समृद्धिको लागि केन्द्रित हुनेछ । त्यसको लागि भारतले नेपाललाई जस्तोसुकै सहयोग गर्नपनि सक्छ ।



प्रतिक्रिया दिनुहोस्