Logo

यौनजन्य घटनाका पीडितले न्याय पाएनन् : आयोग



काठमाडौँ, १७ माघ : राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता, छानबिन र तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडित न्याय पाउनबाट वञ्चित भएको जनाएको छ ।

आज आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा जारी एक विज्ञप्तिमा बलात्कार जस्तो गम्भीर प्रकृतिको घटनामा नेपाल प्रहरीले पीडितलाई न्याय दिन आनाकानी गरेको उल्लेख छ ।

“बलत्कार जस्ता घटनामा उजुरी दर्ता गर्न आनाकानी गर्ने, उजुरी दर्ता भएपनि घटनाको अनुसन्धान प्रभावकारी नहुने जस्तो कारणबाट घटनालाई कमजोर बनाउन खोजिएको छ,” विज्ञप्तिमा भनिएको छ – “यस्ता प्रकृतिका घटनाबाट मृत्यु भएको अवस्थामा हत्याको अपराधमा मात्र मुद्दा चलाउने तथा न्यायमा ढिलाइ गरिने प्रवृत्तिका कारण यौनजन्य हिंसाबाट पीडित महिला न्याय पाउनबाट वञ्चित हुनपुगेको पाइएको छ ।”

आयोगले मानवअधिकारको रक्षार्थ स्थापना भएका निकायबाटै यस प्रकारका कार्य हुनु कदाचित उचित मान्न सकिन्न भन्दै यस्तो कार्य मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुन विपरीत पनि भएको पनि स्पष्ट गरेको छ ।

आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनासँग सम्बन्धित उजुरीको दर्ता, छानबिन तथा तथ्य संकलन कार्यलाई प्रभावकारी बनाई नागरिकको मानवअधिकारको सम्मान र रक्षा गर्न एवं हिंसा पीडितलाई न्यायमा पहुँच पु¥याउनसमेत आग्रह गरेको छ ।

यसैगरी, आयोगले यही माघ ११ गते काठमाडौँको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको अनुसन्धान शुरु गरेको पनि जनाएको छ ।
(रासस) 



प्रतिक्रिया दिनुहोस्