Logo

नेपाल–भारतबिचको सम्बन्ध प्रोटोकलको फ्रेममा छैन : उपाध्याय



१८ माघ, काठमाण्डौ । भारतका लागि नेपालका पूर्व राजदुत दिपकुमार उपाध्यायले नेपाल र भारतबीचको सम्बन्धको कुनै परिभाषा नै नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उपाध्यायले दुई देशबिचको सम्बन्ध कुनै प्रोटोकलको फ्रेममा नभएको बताए ।

“व्यक्ति–व्यक्तिहरुले, प्रधानमन्त्री वा नेता, वान टु वान कुरा गर्ने भन्छौँ । व्यक्तिगत भेतवार्ताले गर्दा धेरै गिजोडिएको छ । धेरै विग्रिएको छ ।” उपाध्यायले भने । “भारतमा त्यस्तो हुँदैन । उनीहरुले त सिस्टम बसालेका छन् ।”

भारतीय प्रधानमन्त्री मोदीले एमालेका अध्यक्ष केपी ओलीलाई टेलिफोन सम्पर्क गरेर बधाई दिनु र प्रधानमन्त्री बनेपछि भारत भ्रमणको निम्तो दिनु पनि व्यक्तिगत भेटवार्ताको उपज भएको उनको जिकिर छ ।

नेपालमा जुनसुकै सरकार बनेपनि भारत विरोधी बन्न सक्दैन भन्ने उदाहरण पछिल्लो समय मोदीले ओलीलाई टेलिफाने गर्नु, निम्तो दिनु र विदेशमन्त्रीलाई नेपाल पठाउनुलाई लिन सकिने उपाध्यायको तर्क छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र नीतिअन्तरगत नेपालसँगको सम्बन्ध आफैले हेर्ने गरेको बताउँदै उपाध्यायले नेपालमाथि भारतले लगाएको नाकाबन्दीको बारेमा भने मोदीले अहिलेसम्म मुख नखोलेको बताए ।

“नाकाबन्दीको बेला असमझदारी भयो । मोदीजी सामाजिक संजालमा सक्रिय हुनुहुन्छ । कुनै पनि घटनालाई तत्काल स्टाटस लेख्ने, टुइट गर्ने गर्नुहुन्छ । तर त्यो दुखद परिस्थितीको बारेमा मुख खोल्नुभएको छैन ।” उपाध्यायले भने ।

नाकाबन्दीको विषयमा ठूलो आवाज उठेपछि मोदी दबाबमा परेको उपाध्यायको दाबी छ । “हुँदाखाँदाको सम्बन्ध, नेपाल–भारतका जनताबिचमा मौलिक सम्बन्ध छ । त्यो सम्बन्धमा आघात पर्नेगरी किन सम्बन्ध बिग्रियो भन्ने चिन्ता छ । यो प्रश्न भारतभित्र र उहाँकै पार्टीभित्र पनि उठ्यो । उहाँको मनमा पनि चिन्ता होला । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।” उपाध्यायले भने ।

“नेपालको समुन्नतिमा मित्रराष्ट्र भारतको चिन्ता र चाहना छ । नेपालको विकास हुन नसक्नुमा त भारतको पनि दोष छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको बारेमा चिन्ता हुने गरेको उपाध्यायको दाबी छ । “कसरी सम्बन्ध सुधार हुन सक्छ, नेपालका जनताहरुसँगको सम्बन्ध कसरी राम्रो हुन सक्छ, नेपालमा शान्ति होस्, स्थिरता होस् भन्ने नै मोदीको चाहना हो ।”



प्रतिक्रिया दिनुहोस्