Logo

प्रदेश एकको मुख्यमन्त्री मै हुँ, कसैलाई रहर छ भने प्रतिस्पर्धा गरौँ : आचार्य



१८ माघ, काठमाण्डौ । नेकपा एमालेका नेता भिम आचार्यले आफू प्रदेश नम्बर एकको मुख्यमन्त्रीको दाबेदार भएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै आचार्यले पार्टी नेतृत्वले पनि आफ्नै पक्षमा निर्णय गर्ने दाबी गरेका छन् ।

सोही प्रदेशमा मूख्यमन्त्रीको दाबी गर्दै आएका शेरधन राईको पक्षमा पार्टीले निर्णय नगर्ने आचार्यको आशय थियो ।

शीर्ष नेताहरुले राईलाई अगाडि सारेर तपाईलाई छोड्न आग्रह गरे भने के गर्नुहुन्छ भन्ने प्रश्नमा आचार्यले भने, “उहाँहरुले त्यो भन्दै भन्नुहुन्न । उहाँहरुले मेरो पक्षमा भन्नुहुन्छ । त्यो नहुने कल्पना गर्नु बेकार हो ।”

उनले आफू नै प्रदेश एकको मुख्यमन्त्रीको प्रमुख दाबेदार भएको जिकिर गरेका छन् । “म पार्टीको सचिव, पदाधिकारी, प्रदेशको प्रमुख । अब मान्छेहरुले राजनीतिक स्वार्थको लागि चाहिँदो नचाहिदो कुरा गरेको भरमा म पछाडि हट्ने कुरा हुँदैन ।” आचार्यले भने ।

सकेसम्म सबै साथीहरुलाई सहमत गराउन खोज्ने, सहमत नभए चुनाव लड्ने योजना आचार्यले सुनाए ।

आचार्यले आफूविरुद्ध शेरधन राईले स्टन्टबाजी गरेको आरोपसमेत लगाए । तर आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको आचार्यको दाबी छ ।

प्रदेश नम्बर एकमा वाम गठबन्धनबाट आफू नै सबैभन्दा सिनियर नेता भएको आचार्यले बताए । “म चुनावमा लड्न त्यस क्षेत्रमा गएपछि सबैले बुझेका छन् । तर कतिपय मान्छेको रहर र आकांक्षा हुन सक्छ । त्यसैले स्वच्छ प्रतिस्पर्धा गरौँ ।” आचार्यले भने ।



प्रतिक्रिया दिनुहोस्