Logo

स्वराज होटल सोल्टीमा, राजनीतिक भेटघाट सुरु



काठमाडौं, १८ माघ । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। विदेश मन्त्रालयका उच्चअधिकारीसहित विशेष विमानबाट स्वराज दिउँसो नेपाल आइपुगेकी हुन्। उनले आजैबाट राजनीतिक भेटघाट सुरु गर्ने छिन्।

सन् २०१४ मा विदेश मन्त्री बनेपछि स्वराज सातौं पटक नेपाल आएकी हुन्। मंसिरमा प्रदेश र प्रतिनिधि सभाको चुनाव भएर वाम गठबन्धनले बहुमत ल्याएपछि भने उनले पहिलो पटक नेपाल भ्रमण गर्दै छन्।

यसैबीच चुनावबाट सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले स्वराजको सम्मानमा आज रात्रीभोज आयोजना गरेको छ। होटल सोल्टीमा हुने रात्रीभोजका क्रममै एमाले अध्यक्ष केपी शर्मा ओली र स्वराजबीच भेट हुने एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।

स्वराजले राजपाका नेताहरुसँग पनि राति आठ बजे सोल्टी होटलमै भेट गर्ने राजपा नेता केशव झाले जानकारी दिए। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि स्वराजलाई भेट्न सोल्टी होटलमा पुग्ने छन्।

त्यस्तै सप्तरीमा रहेका यादव स्वराजसँगको भेटका लागि काठमाडौं आउँदैछन्। स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भेट गर्ने्छिन्।

बिहान १२ बजे स्वराज राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नेछिन्। राष्ट्रपतिसँगको भेटपछि उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने छिन्। स्वराजले भोलि नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्ने्छिन।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्