Logo

स्वराजको नेपाल भ्रमण सफल र उचित समयमा भएको छ : पूर्वराजदुत सिंह



काठमाडौं, १९ माघ । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण सफल र उचित समयमा भएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँको नेपाल भ्रमण उचित समयमा भएको हो, यो अत्यन्तै राम्रो र महत्वपूर्ण भयो ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिंहले नेपालमा नयाँ म्याण्डेट आएसँगै भारतको तर्फबाट नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमण भएको बताउँदै भने,‘यो मित्रताको निरन्तरता हो, नेपाल अब एउटा निश्चित प्रक्रियाबाट अघि बढेको छ, निर्वाचनपछिको नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपियो ।’

नेपालमा भर्खरै सम्पन्न भएका तीन तहकै निर्वाचन शान्तिपूर्ण रुपमा भएकोले अब मुलुकमा स्थिरता आउने संकेत देखिएको उनको भनाई थियो । यो बदलिँदो परिवेशलाई ख्यालमा राखेर द्धिपक्षीय सम्बन्ध अब सोही अनुरुप अघि बढाउन भारत तयार रहेको उनको विश्वास थियो ।

स्वराजको नेपाल भ्रमणमा आपसी सद्भावका कुराहरु भएको उनले बताए । उनले भने,‘भारतले पनि नेपालप्रति एउटा सकारात्मक आँकलन गर्न थालेको महशुस भएको छ, स्वराजको भ्रमणले पनि पोजिटिभ ईमेज बनाएको छ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ हुने दिशातर्फ गएको विश्वास दिलाए । उनले भने,‘उच्चस्तरीय भ्रमणले सम्बन्ध सुमधुर बनाउँछ, अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दुत(विदेशमन्त्री स्वराज) पठाउनुभयो, यो अत्यन्तै राम्रो कदम हो, यसले आपसी सदभाव र सम्बन्धमा नयाँ आयाम थप्ने काम गरेको छ।’

धमलाले द्धिपक्षीय सम्बन्ध ऐतिहाँसिक भएकोले अबको सम्बन्ध आर्थिक समृद्धि हाँसिल गर्नरित केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले मुलुक त्यतातिर गैसकेको छ, मोदीले विशेष दुत पठाएर राम्रो काम गर्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्