Logo

कार्यसूचिबिनाको स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल



माघ २०, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भारतीय विदेशमन्त्री शुस्मा स्वराजको नेपाल भ्रमणलाई सफल वा असफल भयो भन्ने तरिकाले हेर्न नमिल्ने बताएका छन् ।

खाश कार्यसुचि केही नभएकाले र कुनै सम्झौता गर्न आएको नभै सामान्य भेटघाटका लागि आएको अवस्थामा सफलता र असफलता भनेर टिप्पणी गर्न आवश्यक नरहेको रावलको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले स्वराजको भ्रमण सद्वाभनाको रुपमा मात्रै लिइएको स्पष्ट पारे ।

विगतमा भारत र नेपालकाबिचमा समस्या उत्पन्न भएको स्मरण गराउँदै रावलले भने, “संविधान बनाउँदा नाकाबन्दीसमेत भयो । अब त्यो स्थितीलाई भारतले सुधारेर गयो भने यो भ्रमणलाई सफल भन्न सकिएला ।”

विगतमा भारत र एमालेबिचको तिक्तता मेटिएको हो भन्ने प्रश्नमा भने रावलले आफू स्वराजसँगको भेट वार्तामा सहभागि नभएकाले के उपलब्धि भयो भन्ने विषयमा जानकार नरहेको बताए ।

आफू राष्ट्रिय राजनीतिका सन्दर्भमा अछाम पुगेको जानकारी दिँदै रावलले सबै कुरा थाहा नभएको बताए ।

नेपालको राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता र पारस्परिक हितका आधारमा भारतसँग सुमधुर सम्बन्ध कायम राख्न आफूहरु तयार रहेको रावलको भनाई छ ।

“हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गर्नुभएन । हामीले संविधान बनाउँदा हामीमाथि किन नाकाबन्दी गर्ने ?” रावलले भने ।

नेपालले संविधान बनाउँदा भारतले नाकाबन्दी गर्दा त्यसको प्रतिकार एमालेले सशक्त रुपमा गरेकोले एमालेलाई भारतविरोधी भनिएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्