Logo

समय अत्यन्त कम भएकाले प्रदेशसभाको तयारी पर्याप्त हुन सकेन : गृह मन्त्रालय



माघ २१, काठमाण्डौ । प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो ।

प्रदेश १ र ४ को बैठक सोमबार तय भएको छ । प्रदेश ३ को बैठक भने १८ माघमै सम्पन्न भइसकेको छ ।

बैठकका लागि सबैजसो प्रदेश सांसदहरु अस्थायी राजधानी पुगिसकेका छन् ।

गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले समय अत्यन्त कम भएकाले प्रदेशसभाको तयारी पर्याप्त हुन नसकेको बताएका छन् ।
कम समयमा पनि सकेसम्म व्यवस्थापन गर्ने प्रयास गरिएको उल्लेख गर्दै पौडेलले रातारात कार्यालय स्थापना गरिएको बताए । यो कार्यमा दिगो ढंगले काम गर्ने कर्मचारीको रेकर्ड राखी सम्मान गरिने पौडेलले बताए ।

मुख्यमन्त्री लोकदर्शन रेग्मीले पनि प्रदेशसभा बैठकको तयारीमा जुट्ने कर्मचारीलाई सम्मान गर्ने बताउनुभएको पौडेलले जानकारी दिए ।
सम्बन्धित प्रदेशका विभिन्न कार्यालयका प्रमुखहरुले डेरा सरेर, कार्यालय खाली गराएर भए पनि प्रदेशसभा बैठकका लागि सहज बनाईदिएको भन्दै पौडेलले प्रशंसा गरे ।

प्रदेशको अस्थायी राजधानी तोकिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रमुख सचिवलाई अत्याधिक दबाब सृजना भए पनि सक्दो प्रयास गरेर प्रदेशसभा बैठक बसाउने तयारी पूरा गरेको पौडेलले बताए ।

प्रदेश सासंदहरुलाई पनि व्यवस्थापनका बारेमा भएका चुनौति र जटिलताका बारेमा जानकारी भएको बताउँदै पौडेलले सबैले सहयोग गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्