Logo

माघभित्र एकताका धेरै कुरा टुंगिने प्रचण्डको विश्वास



काठमाडौं, २१, माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने बताएका छन् ।

उनले एकताका लागि भएका वार्ताहरु सकारात्मक दिशामा अगाडि बढेको भन्दै एकतालाई कसैले रोक्न नसक्ने बताए । आइतबार अखिल क्रान्तिकारीका पदाधिकारीको प्रतिनिधि मण्डलसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बाहिर हल्ला आएजस्तो एकतामा समस्या नरहेको बताएका छन् ।

प्रचण्डले भने, ‘एकतामा निश्चित रुपमा केही जटिलताहरु छन्, हामी ती समस्यालाई हल गर्दै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्याउँछौँ’।”

उनले एमालेले सरकार गठनलाई प्राथमिकता राखे पनि एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अगाडि बढ्ने बताए । उनले भने, ‘हामी सकभर सरकार गठन अगाडि नै पार्टी एकता होस् भन्ने पक्षमा छौँ, त्यसो नभए पनि दुवै काम सँगसँगै अगाडि बढ्छन् ।’

उनले वामपन्थी एकताका लागि युवा र विद्यार्थीले खेलेको भूमिकाको प्रशंसा समेत गरे । उनले एकताका विपक्षमा वातावरण बन्ने गरी कुनै प्रकारको अभिव्यक्ति नदिन पनि विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्