Logo

आयोगले भन्यो : भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा



काठमाडौं, २३ माघ । निर्वाचन आयोगले भोलि(बुधबार) हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रदेश नम्बर २ बाट निर्वा्चित हुने सबै सदस्य निर्विरोध भइसकेकाले सो प्रदेशमा भने निर्वाचन हुने छैन । बाँकी ६ वटा प्रदेशमा भोलि निर्वाचन हुनेछ ।

निर्वाचन हुनुभन्दा एकदिन अघि पत्रकार सम्मेलन गरेर आयोगले यस्तो जानकारी दिएको हो । आयोग परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भने,‘संविधान कार्यान्वयनकै क्रममा भोलि माघ २४ गते बुधबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको अवगत गराउन चाहन्छु।’

सातवटै प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले भोलि हुने मतदानका लागि गर्नुपर्ने सबै प्रकारका तयारी पूरा भएको जानकारी प्रमुख निर्वाचन आयुक्त यादवले दिएका हुन् ।

प्रदेश नम्बर १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ । राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेका छन् । आयोगका अनुसार अब ३२ सिटका लागि मात्रै चुनाव हुनेछ ।

९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । हरेक प्रदेशबाट कम्तिमा ३ जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरु ३ जनासहित ८ जना निर्वा्चित हुने संवैधानिक प्रावधान छ । आयोगले फागुन ५ गतेभित्र प्रतिनिधिसभा चुनावको सबै परिणामसमेत राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्