Logo

प्रदेशसभा बैठक : धार्मिक यात्रा तय गर्दै समृद्धि र विकासका कुरा



नारायण न्यौपाने : पोखरा, २३ माघ । प्रदेशसभाको पहिलो बैठक सोमबार सकिएपछि प्रदेशसभा सदस्यले पहिलो कार्यक्रमका रुपमा आज धार्मिक यात्रा छनोट गर्नुभएको छ ।

आज बिहानै प्रदेश नं ४ का ६० मध्ये ४० भन्दा बढी सांसदले पुम्दीकोट डाँडामा पुगेर भीमकाय शिवमन्दिर बनाउन सहयोग गर्ने सामूहिक अठोट गर्नुभयो । सँगै धार्मिक यात्रामा रहनुभएका संघीय संसद्का केही सांसदले पनि उहाँहरूको अठोटलाई पूरा गराउन आआफ्नातर्फबाट पूर्ण सहयोग र समर्थन हुने प्रतिबद्धता जनाउनुभएको थियो ।

सोमबारको प्रदेशको पहिलो प्रदेशसभा बैठकमा सहभागी हिमालपारिको जिल्ला मुस्ताङका प्रदेशसभा सदस्य नेकपा (एमाले)का इन्द्रधारा विष्टदेखि तराईको जिल्ला नवलपरासीबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली त्यहाँ पुग्नुभएको थियो । पोखराको पश्चिमभेगस्थित पुम्दीकोटबाट सम्पूर्ण पोखरासहित माछापुच्छ«े, अन्नपूर्णलगायत हिमशृृंखलाको एकैसाथ अवलोकन गर्न सकिन्छ । विरलै सांसदको उपस्थिति हुने पुम्दीकोटमा एकाबिहानै एक्कासि झण्डै आधा सय सांसदको उपस्थिति देखेर त्यस क्षेत्रका बासिन्दा फुरुंग परेका थिए ।

पोखरा लेखनाथ महानगरपालिका– २२ मा अवस्थित सो ठाउँमा करिब रु ४० करोडको लागतमा महादेवको मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको पुम्दीकोट विकास समितिका अध्यक्ष संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो । उहाँका अनुसार समुद्री सतहबाट एक हजार ४०० मिको उचाइमा रहेको पुम्दीकोटमा विशाल महादेवको मूर्तिसहित १०८–१०८ शिवलिङ्ग र स्वर्गद्वारी सिँढी, स्मृतिउद्यान, बालोद्यान, ध्यानकेन्द्रसहितका भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

निर्माण अभियान साकार पार्न महानगरपालिकासँगको साझेदारीमा रु छ करोडको सम्झौता भई बोलपत्र आह्वानको प्रक्रियामा गएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष बरालले भन्नुभयो,“युवा उद्यमी कमल जैनसँग विशाल महादेव मूर्ति निर्माणसम्बन्धी सम्झौता भइसकेको छ भने वरिष्ठ उद्यमी मुरलीधर रुङटाबाट ठूलो सहयोग प्राप्त भएको छ ।”

सो अवसरमा सांसदले प्रदेश नं ४ लाई मुक्तिनाथ र लुम्बिनीसँग जोडेर धार्मिक पर्यटकीय मार्ग निर्माणका लागि आफूहरूले थप पहलसमेत गर्ने विश्वास दिलाउनुभएको थियो । शिवको मूर्ति निर्माणस्थल नजिक यसअघि नै स्थापना भएको विश्वशान्ति स्तूप पोखरा आउने पर्यटकका लागि आकर्षक गन्तव्य भइसकेको छ । यसबाट पोखरामा आउने पर्यटकको बसाइ लम्बिने विश्वास गरिएको छ ।

निर्माण सम्पन्न गर्न अघिल्लो वर्ष फागुन ३ गते पुम्दीकोटमा लगाइएको महायज्ञबाट रु आठ करोड सहित २० रोपनी जग्गा सहयोग प्राप्त भएको थियो । सो अवसरमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, संघीय संसद्का सदस्य रवीन्द्र अधिकारी, जगत विश्वकर्मा र प्रदेश नं ४ का सांसद किरण गुरुङ, राजीव पहारी, रामजी बराललगायतले धार्मिक पर्यटकीयस्थलको निर्माण अभियानलाई पूरा गर्न सक्दो सहयोग पु¥याइने वाचा गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्