Logo

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दिन प्रचण्ड नमाने पछि एकता प्रक्रिया टुङ्गोमा पुगेन : रायमाझी



माघ २५, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले एमालेसँगको पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रायमाझीले पार्टी एकता हुदैन भनेर शंका नगर्न आग्रह गरे ।

“एकता कसैले रोक्न सक्दैन, हामी गम्भीर रुपमा लागिपरेका छौँ ।” रायमाझीले भने ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि एमाले र माओवादीले निर्वाचन सकिएलगत्तै पार्टी एकता हुने दाबी गर्दै आएका थिए । तर, चुनाव सकिएको झन्डै दुई महिना बितिसक्दा पनि दुई दलको एकता प्रक्रियामा अपेक्षित प्रगति भएको छैन ।

वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवार र प्रादेशिक सरकारको स्वरुपसम्बन्धी पद बाँडफाँटको सूत्र तयार गरेका छन् । तर दुई पार्टीको केन्द्रीय तहमा हुने एकताको भने प्रारम्भिक खाकासमेत तयार हुन सकेको छैन ।

एमाले–माओवादी एकतामा पदीय लेनदेन र सैद्धान्तिक विषयले अल्झन थपेको छ ।
तर अझै पनि नेताहरुले एकता टरेको भन्न सकेका छैनन् ।

“पहिला सरकार बनाउँछौँ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख टुङ्गो लगाउँछौँ । त्यसपछि एकता प्रक्रिया तीब्र हुन्छ ।” रायमाझीले भने ।

ओलीलाई नै प्रम र अध्यक्ष दिन प्रचण्ड तयार नभएपछि एकता प्रक्रिया टुङ्गोमा पुग्न नसकेको उनले संकेत भने गरेका छन् ।

कार्यक्रममा एमाले नेता केशव बडालले पनि सरकार निर्माणपछि पार्टी एकतामा जोड दिइने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्