Logo

हामी सरकारमा सहभागि हुन तयार छौँ, केपी ओलीले चाहनुभयो भने हुन्छ : उपेन्द्र यादव



फागुनको दोस्रो हप्तामा नयाँ सरकार बन्ने भएको छ । एमाले र माओवादीबिचको गठबन्धनले सरकार बनाउने चर्चा छ । तर दुई दलले पार्टी एकता नै गर्ने दाबी गर्दै आए पनि तत्कालका लागि एकता टरेको नेताहरुले बताउन थालेका छन् । नीति र पदीय व्यवस्थापनमा सहमति नहुँदा सरकार बनाउने कुरा पनि प्रभावित हुने कतिपयको आशंका छ । एमालेले मधेशवादी दलसँग मिलेर माओवादीलाई पाखा लगाएर नयाँ सरकार बनाउने चर्चा पनि छ । प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरम र राजपाबिचको संयुक्त सरकार बन्ने पक्का भएको छ । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्र्तवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

संघीय समाजवादी फोरम नयाँ बन्ने केन्द्रिय सरकारमा सहभागि हुन लागेको हो ?
सरकारको नेतृत्व गर्ने नेकपा एमालेले अनुकुल वातावरण बनाउन सके हामी सरकारमा सहभागि हुन्छौँ । हामीले उठाउँदै आएको संविधान संशोधनको मुद्दाप्रति एमाले सकारात्मक रुपमा स्पष्ट भएर आए हामी सरकारमा जाने बाटो खुल्छ । तर एमाले र माओवादी मिल्दा सरकार बनाउनका लागि हाम्रो आवश्यक पर्दैन । तथापी राष्ट्रिय समस्या समाधान गर्ने र हाम्रो पनि सहयोग लिने हो भने हामी सहयोग गर्न तयार छौँ । एमाले पनि संविधान संशोधन गर्न तयार छ त ?

तपाईले केपी शर्मा ओलीसँगको भेटमा यि विषयमा कुरा भएको छैन ?
राजनीतिक सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्छ । उहाँहरुले चाहनुभयो भने सरकारमा सहभागि हुने र संविधान संशोधन गर्ने कुरा सम्भव छ । सरकारमा जाउँ भनेर मात्रै हुँदैन, संविधान संशोधन पनि गर्छु भन्नुपर्छ । त्यसपछि हामी हात मिलाएर जान तयार छौँ ।

तपाई केपी ओलीसँग हात मिलाएर सरकारमा सहभागि हुन तयार हुनुहुन्छ ?
तयार छौँ । तर एमाले पनि संविधान संशोधन गरेर माग पूरा गर्न तयार हुनुपर्छ ।

एमाले र माओवादीबिचको पार्टी एकता केही समयका लागि टरेको छ । यस्तो अवस्थामा एमालेले राजपा र फोरमलाई लिएर सरकार बनाउनुपर्ने अवस्था आउनसक्ने अनुमान गरिएको छ । यसमा तपाईको धारणा के छ ?
खै यो विषयमा औपचारिक रुपमा कसैसँग केही कुरा भएको छैन । उहाँहरुको मनमा भएको कुरा त कसरी थाहा पाउने ? तर माओवादीलाई पर राखेर हुँदैन । माओवादी र एमाले मिलेर चुनाव लडे, स्थिर सरकार दिन्छाँै भनेर जनतालाई आश्वासन दिए, तर अहिले फेरी रङ्ग बदल्ने हो भने देश र जनताले के भन्छ ? त्यसैले म त एमाले र माओवादीबिचको गठबन्धनले नै सरकार बनाउनुपर्छ भन्ने पक्षमा छु । जनताको मतलाई सम्मान गर्नुपर्छ । एकथोक भनेर भोट माग्ने, अर्को थोक गर्ने गर्नु हुँदैन । पार्टी एकता हुन नसके पनि सरकार चाँही दुई दल मिलेर नै बनाउनुपर्छ ।

नेपालका राजनीतिक दल र तिनका नेताहरुले जनमतको कदर गर्न त जान्दैनन् नि ?
राजनीतिक दल र तिनका नेताहरुले जनमतको कदर गर्न सिक्नुपर्छ । नत्र भने मुलुक बर्बाद हुन्छ । व्यक्तिगत र गुटगत स्वार्थमा मात्रै रुमल्लिदा धेरै देश बर्बाद भएका छन् । त्यसैले जनादेश अनुसार एमाले र माओवादीबिच अगाडि बढ्नुपर्छ । दुईवटै कम्युनिष्ट पार्टी हुन् । मिल्नुपर्छ । के कसरी मिल्ने भन्ने प्राविधिक कुरा हुन् । म केही भन्दिन ।

एमाले र माओवादीबिच कुरा मिलेन र माओवादी सरकार बाहिर बस्यो भने तपाईहरु एमालेलाइ साथ दिएर सरकारमा जाने कि नजाने ?
यदी एमालेले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने, संविधान संशोधन गर्ने कुरामा सहमत भयो भने हामीलाई सरकारमा सहभागि हुन कुनै आपत्ति छैन । देशलाई समृद्धिको बाटोमा लैजाने र जनताको समस्या समाधान गर्न तयार हुने हो भने हामी पनि हात मिलाउन तयार छौँ ।

प्रदेश नम्बर दुईमा तपाईको दलले सरकार बनाउँदै छ । मुख्यमन्त्री लालबाबु राउत हो ?
लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको मुख्यमन्त्रीकै लागि हो । राजनीतिमा जे पनि सम्भव र असम्भव छ । अन्यथा भएन भने उहाँ नै मुख्यमन्त्री हो । तर म भन्छु हाम्रो पार्टीबाट संसदीय दलका नेता लालबाबु राउत नै मुख्यमन्त्री बन्नुहुन्छ ।

राजपाले साथ देला कि नदेला ?
यो राजपामाथि नै निर्भर छ । तर राजपाले साथ दिए पनि नदिए पनि मुख्यमन्त्री लालबाबु राउत नै हो ।

राजपाले पनि मुख्यमन्त्री आलोपालो बन्नुपर्छ भनेको छ नि ?
यो राजनीतिको विकृति र विसंगति हो । आलोपालो गर्ने भनेको विकृति हो । मुलुकलाई डुबाउने काममा हामी लाग्दैनौँ । प्रदेश नम्बर दुईमा समस्या समाधान गर्न सक्ने स्थिर, सक्षम र सबल सरकार चाहिन्छ । आलोपालो गर्ने कुरालाई हामीले ठाडै अस्विकार गरेका छौँ । काले काले मिलेर खाउँ भन्ने कुराले जनताको हित हुँदैन । एउटै सरकार पाँच वर्षका लागि हुनुपर्छ ।

तपाईहरु राजपालाई सभामुख दिन तयार हो ?
हो । राजपालाई सभामुख दिन हामीलाई कुनै अप्ठ्यारो छैन । हामी सबै आफैलाई चाहिन्छ भन्दैनौँ । म त राजपालाई मात्रै होइन, अरु दललाई पनि समेटेर लैजाने पक्षमा छु । पछाडि परेको प्रदेशलाई सबै मिलेर बनाउँ भन्ने हो ।



प्रतिक्रिया दिनुहोस्