Logo

धमलाहरुको कुल पूजा (देवाली) भव्य रुपमा सम्पन्न



ऋषि धमलाद्धारा ५१ हजार सहयोगको घोषणा र खानेपानी एक वर्षभित्रै पुर्याउने प्रतिबद्धता
काठमाडौं, २५ माघ । धमलाहरुको कुल पूजा (देवाली) हिजो भव्य रुपमा सम्पन्न भएको छ । धादिङ नीलकण्ठ वडा नम्बर–११ ज्यामरुङको शंखदेवीमा उक्त कुला पूजा सम्पन्न भएको हो । पूजामा धादिङलगायत चितवन, गोरखा, नुवाकोटका धमलाहरुको सहभागिता थियो ।

उक्त कुला पूजाको प्रमुख अतिथि रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला थिए । कुल पुजाको बारेमा प्रकाश पार्दै धमलाले आफ्नो संस्कृति र परम्परालाई जोगाउनको लागि देशभरिका धमलाहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले धादिङको उक्त नीलकण्ठ नगरपालिकाका कुनैपनि गाउँमा खानेपानीको अभाव हुन नदिने प्रण समेत गरे । उनले भने,‘एक वर्षभित्रै नीलकण्ठ नगरपालिकामा पानीको अभाव रहेका ठाउँहरुमा पानी पुर्याउनु हामी सबैको कर्तव्य हो, तपाईहरुले गरेको आग्रहलाई मध्यनजर गर्दै म अबको ८ महिनादेखि एक वर्षभित्र यहाँ पानी ल्याउने वाचा गर्छु।’

धमलाले कुल पूजालाई संगठित बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए । उनले देशभरि छरिएर रहेका धमलाहरुको सिप, क्षमता र अनुभवलाई अब मुलुकको मुल प्रवाहमा समाहित गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने,‘धमलाहरुसँग धेरै प्रतिभाहरु छन्, अब ती सबैलाई एक कठ्ठा गर्ने बेला आयो, यो कुल पूजाले हामीलाई एकताको सूत्रमा बाँधेको छ।’

धमला परिवारका मान्यजनहरुलाई उनले अभिनन्दन समेत गरे । उक्त कार्यक्रममा धमलाले करिब एक सय जना ७० वर्ष नाघेका वृद्धबृद्धाहरुलाई अभिनन्दन गरे । उनले आमाहरुलाई दोसल्ला र बुवाहरुलाई ढाका टोपी समेत लगाईदिएका थिए ।

त्यस्तै धमलाले उक्त कुल पूजालाई व्यवस्थित् गर्नको लागि ५१ हजार दिने घोषणा समेत गरे । कुल पूजामा दुर्गाप्रसाद धमलाले तातो घिउसहित आगोमा खली खेलेका थिए । हिजो कम्तिमा ४ सय बोका बलि दिईएको थियो ।



प्रतिक्रिया दिनुहोस्