Logo

फागुण ७ गते नयाँ सरकार बन्छ, एक/दुई दिनभित्रै देउवाको राजिनामा आउँछ : कानूनमन्त्री यज्ञबहादुर थापा



काठमाडौं, २५ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुणको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ, वाम गठबन्धन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ, उहाँलाई मेरो शुभकामना छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले हिजो सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको स्पष्ट पारे ।

उनले भने,‘निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले यही रिपोर्टर्स क्लबको मञ्चमा बोलेको थिएँ, कि नयाँ सरकार फागुणको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै यो कुरा प्रमाणित हुन्छ।’ मन्त्री थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा आउने पनि जनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले आगामी मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिश गर्नेबारे छलफल गर्ने समेत विश्वास दिलाए ।

उनले भने,‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं, ३ जनाको नाम सिफारिश गर्दा साझा व्यतिmत्व चयन गर्छौ, योग्यता पुगेकाहरुलाई नै हामी सिफारिश गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्वहरु च्यन गर्छौं।’

त्यस्तै उनले वर्तमान सरकारले महत्वपूर्ण निर्णयहरु गरेकोमा विरोध हुनु स्वभाविक भएको समेत स्पष्ट पारे । यद्धपी उनले सरकारले निर्णय गर्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले भने,‘सरकारले निर्णय गर्दा सरकार बाहिर भएका दलहरुले विरोध गर्नु स्वभाविक हो नि।’



प्रतिक्रिया दिनुहोस्