Logo

एमाले–माओवादी एकता कहिले होला ? बैठक र कार्यदलको टुङ्गो छैन



माघ २६, काठमाण्डौ । एकता गर्ने भनेर चुनावअघि देखि प्रचार गर्दै आएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकता प्रक्रिया नै अन्यौल बनेको छ ।

चुनाव लगत्तै एकता गर्ने भनि एउटै साझा घोषणापत्र लिएर चुनावमा गएका दुई दलले सरकार गठनका लागि बहुमत ल्याए । नयाँ सरकार गठन गर्न केही ढिला हुनेदेखेपछि पहिले नै पार्टी एकता गर्ने भनेर कस्सिएका दुई दल अहिले रनभुल्लमा छन् ।

एकता गर्नका लागि गठन गरिएको पार्टी एकता संयोजन समिति पनि काम बिहिन जस्तै छ । आज समितिको बैठक बसेर एकता टुङ्गो लगाउने दाबी शीर्ष नेताहरुले नै गरेका थिए । तर समितिको बैठक नै बस्न सकेन ।

एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले आजको बैठकले पार्टी एकतालाई अन्तिम रुप दिने दाबी गरका थिए । तर समितिको बैठक नै बस्न सकेन ।

अर्कोतिर एकताका लागि विचार, नीति र नेतृत्वको विषयमा टुङ्गो लगाउन एउटा कार्यदल गठन गर्ने भनिएको धेरै भइसक्यो । तर उक्त कार्यदल पनि बन्न सकेको छैन ।

दुई दलले राष्ट्रिष्यसभा सदस्य र प्रदेशसभामा सरकार गठनबारे सहमति गरिसकेका छन् । तर एकता प्रक्रिया अन्यौलमा छ ।
बरु अब बन्ने सरकारमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

एकता प्रक्रिया टुङ्गोमा पुग्न नसक्नुको मुख्य कारण नेतृत्वको विषयमा भएको विवाद नै हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र एकीकृत पार्टी अध्यक्ष दुवै पद आफैँ लिन चाहेका छन् । एमालकै एउटा गुटले ओलीलाई दुवै पद लिनका लागि उक्साइरहेको बताइन्छ ।

अर्कोतिर माओवादी अध्यक्ष प्रचण्ड भने ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै सुम्पिएर एकता गर्ने पक्षमा छैनन् । उनलाई पनि पार्टीभित्रैबाट एकीकृत पार्टी अध्यक्ष पद नपाए एकता नगर्न दबाब छ ।



प्रतिक्रिया दिनुहोस्