Logo

उपचार सेवा र गुणस्तरका मापदण्ड तोक्न नौ सदस्यीय कार्यदल



काठमाडौँ, २६ माघ (रासस) : उपचार शुल्क निर्धारण गर्ने समितिले सेवाको गुणस्तर, सेवाको पहिचान अध्ययन गरी प्रतिवेदन बुझाउन नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

समितिका अध्यक्ष स्वास्थ्य सचिव डा पुष्पा चौधरीको अध्यक्षतमा आज स्वास्थ्य मन्त्रालयमा बसेको पहिलो बैठकले अहिलेको शुल्क, सेवाहरुको अध्ययन गरी न्यूनतमदेखि अधिकतम कति शुल्क राख्ने भन्ने सुझावसहितको प्रतिवेदन बुझाउन कार्यदल गठन गरेको हो ।

अस्पतालहरुले मनपरी सेवा शुल्क लिएको गुनासो बढेपछि ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० को शुल्क निर्धारण समितिको व्यवस्था गरिएको आधारमा ४ वर्षअघि समिति बनेको भए पनि अहिलेसम्म बैठक बस्न सकेको थिएन । समिति गठन भएपछि यो नै पहिलो बैठक हो ।

समितिले स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका नर्सिङ प्रशासक रोशनीलक्ष्मी तुइतुई, कानून उपसचिव शम्भुराज रेग्मी, स्वास्थ्य सेवा विभागका अर्जुन सापकोटा, निजी अस्पतालहरुको छाता संस्था अफिनका प्रतिनिधि, आपूर्ति मन्त्रालयका प्रतिनिधि, निजी मेडिकल कलेज तथा डेण्टल कलेजको एशोसिएशनका प्रतिनिधि र उपभोक्ता महासंघका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कृष्ण सुवेदी रहनुभएको छ । सदस्यसचिव सुवेदीले कार्यदललाई ३५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको जानकारी दिनुभयो ।

 



प्रतिक्रिया दिनुहोस्