Logo

अष्टलक्ष्मी र भिम आचार्यले हारेपछि एमालेको गुट छताछुल्ल, पार्टीभित्र विवाद बढ्दै



माघ २७, काठमाण्डौ । प्रदेशको संसदीय दलको नेतामा भिम आचार्य र अष्टलक्ष्मी शाक्य पराजित भएपछि एमालेमा गुटगट विवाद चुलिएको छ । प्रदेश नम्बर एकमा आचार्य शेरधन राईसँग र तीनमा शाक्य डोरमणि पौडेलसँग पराजित भएका थिए ।
पार्टी संस्थापन पक्षले सिनियर नेतालाई हराएर जुनियर नेतालाई जिताएको एमालेको एक पक्षले आरोप लगाएको छ ।

धेरैले अनुमान गरे अनुसार प्रदेश ३ मा एमालेको अध्यक्ष केपी शर्मा ओली समूहको बहुमत भएकाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले डोरमणि पौडेलसँग चुनाव हारिन् ।

गुटअनुसार मत खसेको प्रदेश ३ मा भन्दा प्रदेश १ मा भने विपरीत नतिजा आयो । अर्थात् गुटको अंकगणितमा धेरै अगाडि रहेका एमाले सचिव भीम आचार्यले पोलिटब्युरो सदस्य शेरधन राईसँग २ मतले संसदीय दलको नेता चयनमा चुनाव हारे ।

नेता माधव नेपाल समूहको एकछत्र समानुपातिक सांसदहरु र प्रत्यक्ष निर्वा्चित सांसदहरु पनि धेरै भएको अवस्थामा पनि ओली समूहका नेता शेरधन राईले नै जिते ।

स्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा उत्रिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरे भने चुनावी प्रक्रियामा सहभागी भएनन् ।

चुनावमा पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले पराजित गर्दै राई संसदीय दलको नेता निर्वा्चित भएका छन् । प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए ।

प्रदेश १ मा नेपाल समूहको प्रष्ट बहुमत थियो । ५१ सदस्य मध्ये नेपाल पक्षका २९ र संस्थापन पक्षको २० भोट थियो भने दुई सांसद कुनै पनि गुटमा खुलेका थिएनन् ।

तर, दलको नेताको उम्मेदवार बनेका आचार्य आफ्नै गुटमा नरुचाइएका कारण हारेको कतिपयको तर्क छ ।
उनीमाथि स्थानीय चुनावका क्रममा टिकट बेचेको तथा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेकोसम्म आरोप लागेको छ ।

त्यसैले माधव नेपाल समूहका जीवन घिमिरेले दलको नेता दाबी गरेका थिए । अन्तितमा उनले उम्मेदवारी दिएनन् ।

तर, माधव नेपाल पक्षका असन्तुष्ट सांसदहरूले आचार्यलाई मत नदिएको पाइयो । त्यही कारण अल्पमतमा रहेर पनि संस्थापना पक्षले दलको नेताको चुनाव जितेको हो ।

प्रदेश ३ मा एमालेभि अष्टलक्ष्मी सबैभन्दा सिनियर नेता हुन् । पार्टी उपाध्यक्ष र प्रदेश संयोजक भएका कारणमात्र उनी सिनियर होइनन् ।
२०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेकी काठमाडौंको परम्परागत व्यापारिक नेवार घरानाकी शाक्य २०३६ सालदेखि सबै सुखसयल त्यागेर भूमिगत राजनीतिमा लागेका थिइन् । उनी सिन्धुपाल्चोकको पिस्करदेखि जनआन्दोलनताका झापासम्म राजनीतिक काममा थिइन् ।

उनले संसदीय दलको चुनावमा पराजित भएपछि आफुलाई पार्टी अध्यक्ष केपी ओलीलेव धोका दिएको आरोप लगाएकी छिन् ।
“मैले जित्छु र सघाउनुस् भन्दा त्यसो भए उठ्नुस् भन्नुभयो । तर हराउनुभयो ।” शाक्ले भनेकी छिन् । “अध्यक्षको तहबाट मविरुद्ध चरम गुटबन्दी भएकोमा स्तब्ध छु ।”

एमालेले सरकार बनाउने प्रदेश नम्बर पाँचमा शंकर पोखरेल सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भइसकेका छन् ।

प्रदेश नम्बर चारमा भने चुनाव हुन बाँकी छ । यहाँ पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले दाबी गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्