Logo

ओलीजी, छिटै निष्कर्ष निकाल्नुस्, पार्टी एकता नहुने हो भने अर्को बाटो जान्छौँ : गजुरेल



माघ २८, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नयाँ सरकार गठन र एकता प्रक्रिया एकसाथ गर्न लागिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता गजुरेलले दुई दलबिच एकता गर्ने प्रयास भइरहे पनि निष्कर्षमा पुग्न नसकिएको बताए ।

एकता प्रक्रिया टुङ्गोमा पुग्न नसक्नुमा देश भित्र र बाहिर दुवैतिरबाट अवरोध आउनु मुल कारण भएको गजुरेलले बताएका छन् ।

अवरोधलाई पन्छाउँदै अगाडि बढ्ने प्रयास भइरहेको उनको भनाई छ ।

“अवरोध पन्छाउँदा एकता गर्न ढिलाई भएको हो ।” गजुरेलले भने ।

एकताका लागि आफूहरु लचिलो भए पनि दुवै पक्षलाई सहज हुने वातावरण बन्न नसकेको उनले बताएका छन् ।

सम्मानजनक ढंगले एकता गर्नुपर्नेमा उनले जोड दिए । विगतमा माओवादी सबैभन्दा ठूलो दल भएको स्मरण गराउँदै गजुरेलले अहिले एमाले ठूलो दल बने पनि परिवर्तनको एजेण्डा माओवादीसँग नै भएको बताए ।

“माओवादीकै एजेण्डाको वरीपरी देश चलिहेको छ । यसलाई महसुस गर्नुपर्छ ।” उनले भने ।

आफूहरुले कुने पनि पदका लागि दबाब दिएको नभै सम्मानजनक एकताको कुरा मात्रै गरे पनि एमालेसँग कुरा मिल्न नसकेको उनको भनाई छ ।

“बाहिर देखिएजस्तो शक्ति बाँडफाँटमै मात्र कुरा नमिलेको होइन । अरु पनि अप्ठ्यारा छन् ।” गजुरेलले भने । तर एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दिन तयार हो भन्ने प्रश्नमा भने उनले यो विषयमा एमालेले सोच्नुपर्ने बताए ।

एकता टुङ्ग्याउनका लागि एमालेको निर्णायक भूमिका हुने उनको भनाई छ ।

“फलेको हाँगो झुक्नुपर्छ । केपी ओलीले पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयमा निष्कर्ष दिनुपर्छ । अब छलफलको जरुरी छैन ।” उनले भने । “वाम गठबन्धन र पार्टी एकता नहुने हो भने अर्को बाटो रोज्नुर्यो ।”

पार्टी एकता नहुने हो भने एमालेको सरकारमा आफूहरु सहभागि हुन अनिवार्य नभएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्