Logo

व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिक रुप दिन माँग



काठमाडौं, १ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिक रुप दिन सरकारसँग माग गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर यहि फागुन ५ गते एकताको महाधिवेशन सम्पन्न गर्ने जानकारी दिँदै यस्तो माग गरेको हो ।
महासंघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला व्यवसायीहरुको हकहित र मुलुकको ब्यापार घाटालाई कम गर्ने उद्देश्यले १८ वटा संगठनहरुको छाता संठगनका रुपमा एकजुट भएको जानकारी दिएका छन् ।

उनले भने,‘राजनीति दलहरुले मुलुकलाई समृद्ध बनाउने भन्छन् तर ब्यापारी तथा व्यवसायीहरुसँग कुनै प्रकारको सल्लाह÷सुझाव लिने दिने काम भएको छैन्, यस्तो स्थितिमा कसरी हाम्रो देश समृद्ध बन्छ ?’

उनले अघि थपे,‘आगामी फागुन ५ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रथम महाधिवेशन हुँदैछ, सबैलाई उपस्थित भर्ईदिन आग्रह गर्दछु।’

संघीय संरचना अनुसार महासंघले आफ्ना क्रियाकलापहरु अघि बढाउने बताएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले नेपाल राष्ट्रिय व्यवसायी महासंघ १८ वटा संघ संस्थाहरुको छाता संगठन भएको जनाए ।

नेपाल ब्यापार संघ, राष्ट्रिय ब्यापार संघ, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, एकता ब्यापार संघ, चाहना ब्यापार संघ, खिचापोखरी, नयाँ बानेश्वर, फेन्सी व्यवसायी, रञ्जना ब्यापार संघ सिभिल मल ब्यापार संघ रहेका छन् ।

त्यस्तै कोटेश्वर व्यवसायी संघ, नेपाली टेली मार्केट, पिपुल्स प्लाजा ब्यापार संघ, ललितपुर तयारी पोशाक ब्यापार संघ, भक्तपुर रेडिमेट ब्यापार संघ, बौद्ध ब्यापार संघ, विशाल बजार ब्यापार संघ र तेपाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघ रहेका छन् ।

महासंघको प्रथम महाधिवेशनमा पाँच सय जना प्रतिनिधि रहनेछन् भने २ सय जना परिवेक्षक रहने आयोजकले जानकारी दिएको छ । साना तथा मझौला उद्योगी व्यवसायीहरुको हित र अधिकारको रक्षार्थ गठन गरिएको महासंघले बुधबार उम्मेदारी दर्ताको समय तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्