Logo

ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थल बनाउन आवश्यक : देउवा



दमौली, तनहुँ, १ फागुन (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

पराशर आश्रम संरक्षण समिति तनहुँद्वारा ब्यास नगरपालिका–५ को वेनीपाटनमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले ब्यास र पराशर क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउँदै मानुङकोट, तनहुँसुर, चुदी रम्घाजस्ता पर्यटकीय क्षेत्रको विकासका लागि सम्बन्धीत सबै पक्षबीच उच्चस्तरको सहयोग, समन्वय र सक्रियता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रजातान्त्रिक आन्दोलनमा तनहुँले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चागर्दै उहाँले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा यस्ता धार्मिक कार्यले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्व गोवर्धन पोख्रेल र बुद्धसिंह रानाको योगदानको स्मरण गर्दै जिल्लाको सम्रग विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

संस्कृत गुरुकुलको उचित संरक्षण गर्नुपर्नेमा जोड दिदैं उहाँले ब्यास–३ भतेरी क्षेत्रमा आवश्यक संरचना निर्माणका लागि सरकारले रु १० करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

ब्यास नगरपालिकाका प्रमुख बैकुृण्ठ न्यौपाने, महायज्ञका संयोजक ताराप्रसाद श्रेष्ठ र महासचिव सत्यप्रसाद खनाल लगायतले पुण्यको कार्यमा मन फुकाएर सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

शिवालय, वृद्धाश्रम, पराशर सत्सङ्ग, सत्यवक्ती शिला र गुरुकुल विद्यालयको संरक्षण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । महायज्ञबाट रु दुई करोड उठाउने लक्ष्य लिएको छ । महायज्ञ फागुन ८ गतेसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्