Logo

समानुपातिक प्रणालीको दुरुपयोग भएको छ : राजकिशोर यादव



प्रदेश नम्बर २ मा सरकार गठनका लागि केके तयारी भइरहेको छ ?
संघीय समाजवादी फोरम र राजपा मिलेर सरकार बनाउँछौँ । मुख्यमन्त्रीका लागि फोरमले लालबाबु राउतलाई अघि सारेको छ । हाम्रो पनि समर्थन छ ।

फोरमलाई मुख्यमन्त्री दिन तपाईहरु तयार हुनुभएको हो ?
दुई दल मिलेर नै प्रदेश र प्रतिनिधिसभाको चुनावमा गएका थियौँ । त्यतिबेला नै मिलेर सरकार बनाउने सहमति भएको थियो ।

प्रदेश सरकारको मन्त्रीमण्डलका विषयमा विवाद भएको हो ?
राजपाको बारेमा नेपालका मिडियाहरुले आफैँ आँकलन गर्ने गरेका छन् । राजपामा सधैँ विवाद हुन्छ भन्ने मानोविज्ञान मिडियाहरुमा देखिन्छ । राजपाभित्र सरकार गठनका विषयमा कुनै विवाद छैन । सरकार बनाउने विषयमा विचार विमर्श हुनु स्वभाविक हो । विवाद छ भन्नु चाँही निराधार हो ।

मन्त्री कसलाई बनाउने भन्ने विषयमा त विवाद छ नि ?
यस विषयमा एउटा अनलाईन समाचार माध्यममा आएको देखेँ । त्यो समाचार पढेर म आफैँ अचम्मित भएँ । अब कसको डिजाइनमा त्यो समाचार किन लेखियो थाहा छैन । मैले सम्बन्धित संचारमाध्यमका सम्पादकालाई फोन गरेर सोधेँ । विना तथ्य र विना आधार समाचार लेख्दै जाने हो भने संचारमाध्यम र पत्रकारको सृजना समाप्त हुन्छ ।

सबै सासंद मन्त्रीका आकांक्षी छन् । विवाद त होला नि ?
चुनाव जितेर आएका सांसदहरु मन्त्रीका लागि आकांक्षी हुनु स्वभाविक हो । यस विषयमा हामी छलफल गर्छौ । टुङ्गो लगाउँछौँ । तर असत्य, कपोकल्पित, आधारहिन र पूर्वाग्रही ढंगले समाचार प्रकाशन गरिएकोमा मेरो आपत्ति छ ।

रामनरेश रायले त जितेन्द्र सोनललाई संसदीय दलको नेता मान्दिन भन्नुभएको छ । यो विवाद होइन ?
अध्यक्षमण्डलले निर्णय गरेर पठाएको हो । कुनै साथीको असन्तुष्टी होला, विमति होला । यि कुरालाई पार्टीले व्यवस्थापन गर्छ । समाधानको उपाय खोज्छ ।

संसदीय दलको नेता चयन गर्दा किन सांसदहरुलाई सहभागि गराइएन ? अध्यक्षमण्डलले दलको नेता चयन गर्नु अप्रजातान्त्रिक भएन ?
हो, दलको नेता चयन गर्दा सांसदहरुलाई सहभागि गराउनुपर्ने हो । तर अप्रजातान्त्रिक निर्णय होइन । राय सुझाब लिएर अध्यक्षमण्डलले आफ्नो अधिकार प्रयोग गरेको हो ।

सासंदहरुले दलको नेता चयनका लागि निर्वाचनमा जानुपर्छ भन्ने माग गरे भने के गर्नुहुन्छ ?
यो नितान्त आन्तरिक प्रक्रियाभित्रको कुरा हो । अध्यक्षमण्डलले दलको नेता चयन गरिसकेको अवस्थामा अव निर्वाचनको माग कसैले गर्दैन होला । पार्टीले आन्तरिक जीवनलाई व्यवस्थित बनाउनका लागि पार्टीले उचित निर्णय गर्छ ।

प्रतिनिधीसभातर्फ समानुपातिक सांसद चयन गर्दा राजपाभित्र पैसाको चलखेल भयो भन्ने आरोप छ नि ?
त्यो हामीलाई थाहा हुने कुरा होइन । तर एउटा साँचो विषय के हो भने, जुन उद्देश्यका लागि समानुपातिक प्रणाली ल्याएका थियौँ, त्यसको दुरुपयोग भएको छ ।

केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्दैछ । तपाईहरु सहभागि हुने सम्भावना कति छ ?
पहिलो त सरकार बन्न दिनुस् न । प्रमुख विषय भनेको कसको नेतृत्वमा सरकार बन्छ भन्ने हो । अर्को कुरा भनेको सरकारको प्राथमिकता के हुन्छ, हाम्रो आवश्यकता हुन्छ कि हुँदैन ? आवश्यकता र औचित्यको आधारमा सहकार्य र गठबन्धन हुन्छ । राजपा आफ्नो राजीतिक एजेण्ड लिएर अघि बढेको छ । एउटा प्रमुख पक्षको नेतृत्व हामीले गरिरहेका छौँ । हाम्रो एजेण्डाको आधारमा रहेर हामी अघि बढ्छौँ ।

(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले लिएको अन्तरवार्ताको सम्पादित अंश)



प्रतिक्रिया दिनुहोस्