Logo

डिभिजन टुमा नेपाल र क्यानडा दुवैलाई गर या मर, यस्तो छ अवस्था



फागुन २, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत नेपाल र क्यानडा एकआपसमा भिड्दा दुबै टोली ‘गर वा मर’ को अवस्था छन् । जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । हार्ने टिमको विश्वकप खेल्ने सपना टुट्नेछ ।

अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई सजिलो छैन । भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुले भरिएको क्यानडाको ब्याटिङ सशक्त छ भने नेपालको बलिङ ।

यो प्रतियोगितामा नेपालको बलिङ युवा बलर सन्दिप लामिछानेले धानिरहेका छन् । उनले अहिलेसम्म ४ खेलमा १४ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट टेकर बनेका छन् ।

प्रतियोगितामा नेपालको ब्याटिङ राम्ररी चल्न सकेको छैन । तर, पछिल्ला दुई म्याचमा कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेले, जसले टिमको मनोबल बढेको छ ।

साथै केन्यासितको अघिल्लो म्याचमा दुई युवा खेलाडी आरिफ सेख र रोहितकुमार पौडेलले परिपक्व ब्याटिङ गर्दै नेपाललाई जिततर्फ र्डोयाएका थिए ।

उनीहरुको प्रदर्शनले नेपालको ब्याटिङको गहिराई बढाएको छ । नेपाल पारस, ज्ञानेन्द्र र शरद)मा मात्रै निर्भर छैन भन्ने सन्देश दिएको छ ।
नेपाली ब्याटिङका एक खम्बा ज्ञानेन्द्र मल्ल यो प्रतियोगितामा चल्न सकेका छैनन् । उनले चार म्याचमा कुल ३६ रन मात्र जोडेका छन् । उनको खराब फर्म नेपालका लागि चिन्ताको विषय बनेको छ ।

अर्कोतर्फ फास्ट बलर करण केसी पनि पूर्णरुपमा फ्लप भएका छन् । स्वीङ र बाउन्स भएको पिचमा पनि उनी न विकेट लिइरहेका छन् न रन रोक्न सक्षम छन् ।
विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ ।



प्रतिक्रिया दिनुहोस्