Logo

नेपालमा पहिलोपटक सिइओ समिट तथा अवार्ड हुँदै, ३ सय सिइओ, विजनेश लिडरहरुको जमघट



फागुन २, काठमाण्डौ । सिइओ समिट तथा अवार्ड कार्यक्रमको अवसर पारेर नेपालमा १७ देशका विजनेश लिडरहरु जम्मा हुने भएका छन् । नेपालमा पहिलोपटक हुन लागेको उक्त कार्यक्रममा १७ देशका झण्डै ३ सय जना सिइओ तथा विजनेश लिडरहरुको जमघट हुन थालेको हो ।

आगामी फागुन ३० गते काठमाडौंमा आयोजना हुन लागेको नेपाल सिईओ समिट तथा अवार्ड कार्यक्रम मुख्यतया दुईवटा मुद्धा (एजेण्डा) मा केन्द्रित हुने जनाइएको छ ।

बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्धाहरु के हुन्छन भन्ने कुरा समिटको पहिलो विषय हुने आयोजक पक्षले जानकारी दिएको छ ।
समिटमा ठूला र बहुराष्ट्रिय कम्पनीका सफल प्रमुख कार्यकारी अधिकृत सिईओहरु र नेतृत्वकर्ताहरुको अनुभव सु्न्न पाइनेछ । व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता तौरतरिका अपनाएका छन र यो अवस्थासम्म आउन उनीहरुले के कस्ता प्रयास गरे भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदान–प्रदान हुने जनाइएको छ ।

उक्त समिट तथा अवार्डमा सहभागी हुन चाहने विभिन्न कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुले यही फागुन ८ गते अर्थात फेब्रुअरी २० सम्म www.nepalceosummit.com मा गई अनलाईन आवेदन फर्म भर्न सक्नेछन ।

नयाँ सरकारका सामाजिक र आर्थिक मुद्धा (एजेण्डा) के हुनेछन ? देश निर्माणका लागि कस्तो दृष्टिकोण सहितका योजनाहरु बन्नेछन ? यसको सफल कार्यान्वयनका लागि कस्ता रणनीतिहरुको तर्जुमा गरिनेछ र कस्ता टुल्स र टेक्निकको सहायताले आगामी ५, १० र २० बर्षमा नेपाल कहाँ पुग्नेछ भन्ने विषयमा समिट केन्द्रित हुने आयोजन पक्षका डम्बर साहुले जानकारी दिए ।

समिटमा नेपाल सरकारका प्रधानमन्त्री, उद्योगमन्त्री, वाणिज्यमन्त्री तथा यो क्षेत्रका विज्ञ विषेशज्ञसहित सरोकारवालाहरुको सक्रिय सहभागिता रहने साहुले बताए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका लगानीकर्ताहरु र कार्यकारी तथा नेतृत्वदायी भूमिका निभाउनेहरुसहित झण्डै ३ सयजना विभिन्न क्षेत्रमा काम गरिरहेका सिईओ र विजनेश लिडरहरुबीच खुला छलफल, बहस र अन्तरक्रिया गर्नु समिटको मुख्य लक्ष्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्