Logo

बन्दिपुर गाउँपालिकाको सभा सम्पन्न, नीतिगत सुधार र विकासमा फड्को मार्दै



फागुन ३, काठमाण्डौ । तनहुँको बन्दिपुर गाउँपालिकाको दोस्रो गाउँसभाले आर्थिक कार्यविधी पारित गरेका छ । विहिबार सम्पन्न सभाले आर्थिक कार्यविधिसहित शिक्षा नियमावली र सहकारी ऐन पनि पारित गरेको छ ।

गाउँपालिकाका पदाधिकारी र कर्मचारीको सेवा सुविधासम्बन्धी आर्थिक कार्यविधिसम्बन्धी ऐन बनाइएको छ । तर त्यसलाई प्रदेश सरकारले पारित गरेपछि मात्रै लागु गरिने गाउँपालिका अध्यक्ष पुर्ण सिं थापाले बताएका छन् ।

अब यस गाउँपालिकाले आफ्नै शिक्षा नियमावली अनुसार शैक्षिक संस्थाको नियमन गर्नेछ ।
बन्दिपुर गाउँपालिकाभित्रका सामाुदायिक विद्यालयका व्यवस्थापन समिति विघटन गरेर नयाँ समिति तत्काल गठन गर्ने निर्णय पनि गरिएको छ ।

समितिको अध्यक्ष बन्नका लागि सभाले नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार आधारभूत विद्यालयको व्यवस्थापन समितिको नेतृत्व गर्न न्यूनतम एसएलसी उत्तीर्ण भएको हुनुपर्नेछ भने माध्यमिक विद्यालयका लागि स्नातक तह पूरा गरेको हुनुपर्ने छ ।

गाउँपालिकाभित्रको कुनै एउटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने तयारी पनि गरिएको छ । विद्यालयलाई सुचना प्रविधि मैत्री बनाएर शैक्षिक गुणस्तरमा ध्यान दिइने अध्यक्ष थापाले बताए ।

त्यसैगरी फोहरमैला व्यवस्थापनसम्बन्धी निर्देशिका र ज्येष्ठ नागरिक परिचयपत्र वितरणसम्बन्धी कार्यविधी पनि पारित भएको बन्दिपुर गाउँकार्यपालिका सदस्य भानुभक्त पोखरेलले जानकारी दिए ।

सार्वजनिक ठाउँमा फोहर फाल्ने व्यक्ति वा संस्थालाई ५ हजार रुपैयाँदेखि १५ हजारसम्म जरिवाना गरिने गरी फोहरमैला व्यवस्थापनसम्बन्धी निर्देशिका पारित गरिएको हो ।

सभाले सामुदायिक वन उपभोक्ता समिति विघटन गर्दै वनबाट हुने काठ विक्री रोक लगाउने निर्णय पनि गरेको पोखरेलले जानकारी दिए ।
वन पैदावरलाई पूर्ण रुपमा निषेध गर्नका लागि बन्दिपुर गाउँपालिकाबाट अन्य क्षेत्रमा वनजन्य पदार्थ निकासी गर्न नदिने गरी नियम बनाइएको छ ।
गाउँपालिकाको बजेट पनि संशोधनसहित पारित गरिएको छ ।

आगामी दिनमा गाउँपालिकाभित्रको विकासलाई तिब्रता दिनका लागि मास्टर प्लान बनाएर काम गरिने अध्यक्ष थापाले जानकारी दिए ।
गाउँपालिकाको पर्यटन, कृषि, व्यापार, उद्योग लगायतका क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको थापाले बताए । सडक, खानेपानी, विजुली लगायतका भौतिक पूर्वाधार विकासलाई पनि क्षेत्र हेरेर आवश्यकता अनुसार काम गरिने थापाको भनाई छ ।

सभाको अध्यक्षता बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले गरेका थिए भने सभामा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ लगायत बडाध्यक्षहरुको सहभागिता थियो ।

सभामा गाउँपालिका सभामा आवद्ध ३३ जना सहभागि थिए ।



प्रतिक्रिया दिनुहोस्