Logo

अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी हुनुपर्छ



खोटाङ, ४ फागुन  : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी बन्नुपर्ने बताउनुभएको छ ।

भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी बिहीबार खोटाङमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब बन्ने घरहरु भूकम्प मात्र नभई बाढीपहिरो, आगलागी, हावाहुरी, चट्याङलगायत बहुप्रकोप प्रतिरोधी बनाउनुपर्ने बताउनुभएको हो ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले देशमा विभिन्न प्रकारको प्रकोप हुने भएकाले सबै प्रकोपको प्रतिरोध गर्न सक्ने घर बनाउनुपर्नेमा जोड दिनुभयो ।

“गाउँघरमा पुरानै प्रकारका घर बनाउने चलन छ,” उहाँले भन्नुभयो, “त्यही खर्चमा प्राविधिकको सल्लाह लिएर भूकम्पलगायत विभिन्न प्रकोप प्रतिरोधी घर बनाउन सकिन्छ ।” भूकम्प गएको करिब तीन वर्ष पुग्न लाग्दा पनि पुनःनिर्माण नहुनु दुःखद भएको भन्दै उहाँले यसै वर्षभित्र सबै पुनःनिर्माणका काम सम्पन्न गराउन प्राधिकरण लागिपरेको बताउनुभयो । “क्षतिग्रस्त घरहरु पुनःनिर्माण नहुँदा कतिपय पीडित परिवार पालमै बस्न बाध्य छन्,” उहाँले भन्नुभयो, “पुनःनिर्माणका कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छु ।”

छलफलमा सहभागीले पुनःनिर्माणका लागि अहिलेसम्म नक्सा तथा प्राविधिक सल्लाह नपाएको गुनासो गरेका थिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ४४३ घरपरिवार भूकम्पपीडित रहेका छन् ।

पुनःनिर्माणका लागि प्राधिकरणले सबै नगर तथा गाउँपालिकाका लागि इन्जिनियर परिचालन गरेको जनाएको छ । खोटाङमा भने ऐँसेलुखर्क, बराहपोखरी र दिप्रुङ गाउँपालिकामा अहिलेसम्म इन्जिनियर तथा सबइन्जिनियर आएका छैनन् ।

जिल्लाका कतिपय भूकम्पपीडितले प्राविधिक सल्लाहबिना नै घर निर्माण गरेका छन् भने कतिपय पहिलो किस्ता रकम लिएर प्राविधिकको पर्खाइमा छन् । जिल्लामा अहिलेसम्म आठ हजार १४१ घर भूकम्पपीडितले पहिलो किस्ता लिएको जनाइएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्