Logo

देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल



आज प्रजातन्त्र दिवस । रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका नेता हुन् । बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका पौडेलको राजनैतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटकपटक गरी १३ वर्ष जेल परेका छन् । अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् । उनै पौडेलसँग प्रजातन्त्र दिवसका अवसरमा ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्तामा नेपाली कांग्रेसको अबको बाटो कसरी अगाडि बढ्छ भन्ने विषय पनि उठान गरिएको छ । पौडेलसँगको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

२००७ सालमा आएको प्रजातन्त्रको सार्थकता अहिले कत्तिको छ ?
२००७ साल फागुन ७ गतेको परिवर्तनकै जगमा हामी उभिएका छौँ । त्यसपछि पनि लोकतन्त्रमाथि प्रहार गर्ने धेरै काम भए । तर अहिले हामी सात सालकै प्रजातन्त्रको विन्दुमा पुगेका छौँ ।

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको अवस्थामा सात सालको परिवर्तनको औचित्य रहन्छ र ?
देशको संसदीय प्रणालीबाट शाषन गर्ने र संविधानसभाबाट संविधान बनाएर जनताले नै देशको शाषन गर्छन् भनेर त्यतिबेला नै विपि कोइरालाले भन्नुभएको थियो । त्यही कुरा अहिले साकार भएको हो । संसदीय प्रणालीअन्तगरत शासन व्यवस्था स्थापित भएको छ । सात सालको मौलिक परिवर्तनकै जगमा हामी छौँ ।

पूर्वराजा ज्ञानेन्द्रले त सिमित व्यक्तिहरुको स्वार्थअनुसार परिवर्तन गरिएको आरोप लगाएका छन् नि ?
पूर्व राजाले त आफ्नो ठाउँबाट भन्छन् होला । पूर्व राजालाई बोल्ने अधिकार त लोकतन्त्रले नै दिएको हो । तर यथार्थ के हो भने नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आइसकेको छ । विगतमा सात सालको परिवर्तनलाई स्विकार गर्न नसक्ने उग्र वामपन्थी र दक्षिणपन्थीलेसमेत अहिले संसदीय लोकतान्त्रिक संसदीय प्रणालीलाई स्विकार गरेका छन् । अब त देश विकास र राजनीतिक स्थायित्वको खाँचो छ ।

ज्ञानेन्द्रले आफूसँग भएको सम्झौता पालना होस् भन्नुभएको छ नि ?
कोसँग के सम्झौता भएको थियो हामीलाई के थाहा छैन । देशमा जनताले आन्दोलन गरे । राजा गए । गणतन्त्र जनताको हातमा आइसक्यो । अब गाउँगाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ । अब केन्द्रबाट शासन चल्दैन ।

अब नेपाली कांग्रेस कसरी अगाडि बढ्छ ?
नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्छ ।

पार्टीभित्र द्धन्द्ध छ । संसदीय दलको नेता चयन गर्ने बेला भएको छ । तपाईको भूमिका के रहन्छ ?
संसदीय दलको नेता सासंदहरुले चयन गर्छन् ।

सभापति शेरबहादुर देउवाले आफैँ संसदीय दलको नेता बन्नका लागि गृहकार्य गर्नुभएको छ नि ?
निर्वाचनमा पार्टीले पराजय बेहोरिसकेको अवस्थामा देउवाले उम्मेदवारले मात्रै हारेका हुन्, पार्टीले हारेको होइन भन्न पाउनुहुन्न । केन्द्र र प्रदेश दुवैमा कांग्रेस बहुमतमा छैन । उहाँको नेतृत्वमा पार्टी पराजित भएको हो । यसको जिम्मेवारी लिएर आफू पन्छनु जाती होला । किनभने गिरिजाबाबुले पनि आफ्नो नेतृत्वमा चुनाव हारेपछि दलको नेतामा दाबी गर्नुभएन । यो इतिहास र परम्परालाई देउवाले थाम्नुपर्छ । फेरी मै दलको नेता बन्छु भनेर अगाडि सर्नु राम्रो हुन्न ।

उहाँले त ससंदीय दलमा आफुसँग बहुमत भएको दाबी गर्दै अघि सर्नुभएको छ ?
बहुमतको मात्रै कुरा होइन । नैतिकता र जिम्मेवारी पनि हेर्नुपर्छ । उहाँले उत्तरदायित्व नलिएर सधैँ जिद्दि गर्न पाइन्छ ?

देउवाले छोड्नुहोला त ?
अब उहाँ संसदीय दलको नेता बन्नु हुँदैन । अहिले पार्टीलाई जुन किसिमको क्षति पुगेको छ, त्यसमा उहाँले दायित्व निर्वाह गर्नुपर्छ ।

अब कसलाई संसदीय दलको नेता बनाउँदा राम्रो हुन्छ ?
यो त सासदंहरुले गर्ने हो ।

तपाईको समर्थन कसलाई छ ? प्रकाशमान सिंह कि शशांक कोइराला ?
जो साथीहरु आउनुहुन्छ, उहाँलाई समर्थन हुन्छ । साथीहरुले चुनावमा प्रतिस्पर्धा गर्नुहोला । प्रतिनिधीसभामा हुनुभएका साथीहरुले टुङ्गो लगाउनुहुन्छ । तर सकेसम्म सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने प्रयास हुन्छ ।

महासमितिको बैठक बोलाउने कुरा थियो । के हुँदैछ ?
तत्काल कार्यसमिति बैठक बसेर महासमितिको बैठक बोलाइन्छ ।

अब पार्टी एक भएर अगाडि बढ्न सक्छ त ? देउवा र तपाईको कुरा मिल्छ ?
मैले त सभापतिलाई सधैँ सहयोग गर्दै आएको छु । कतिपय कुराहरु त चुनावका बेला पार्टीलाई अप्ठ्यारो पर्ला भनेर नबोलेर बसेँ । पार्टीलाई नराम्रो होला भनेर देउवाको कतिपय कमी कमजोरीलाई मैले दबाएर राखेँ । लोकतन्त्र र पार्टीका लागि आफैँलाई जोखिममा राखेँ ।

कांग्रेसभित्र गुटको अन्त्य कहिले हुन्छ ?
यो गुट भन्ने कुरा संसारभरी जहाँ पनि हुँदोरहेछ । मैले गुटगत राजनीतिको अन्त्य गरौँ भनेर सभापति देउवालाई धेरैपटक भनेँ । तर देउवा कहिल्यै पनि कांग्रेसको नेता बन्न सक्नुभएन । आफ्नो समिति व्यक्तिको हितको रक्षाका लागि मात्रै उहाँले काम गर्नुभयो । मेरो यही गुनासो छ । चित्त दुखेको छ । आम कांग्रेसको नेता बन्न खोजेको भए उहाँ आफैलाई र पार्टीलाई पनि फाइदा हुन्थ्यो । पहिलेका केही नेताहरुले देखाएको राम्रा कुरा त सिक्दै नसिक्ने, नराम्रा कुरा मात्रै सिक्ने गर्नुभयो । त्यसो त गर्नुहुँदैन नि ।

अब विशेष महाधिवेशनमा जान कांग्रेस तयार भएको हो ?
पहिला केन्द्रिय समितिको बैठक बसेर कांग्रेसलाई जनतामाझ कसरी लैजाने भन्ने विषयमा छलफल गर्नुपर्छ । संघीय संरचनाअनुसार पार्टीको संरचना परिवर्तन गर्नका लागि विधान संशोधन गर्नुपर्छ । यसका लागि आवश्यकताअनुसार महाधिवेशन, बैठक सबैमा जानुपर्छ ।



प्रतिक्रिया दिनुहोस्