ऋषि धमला : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४१ औं प्रधानमन्त्री हुँदासम्म राजनीतिका धेरै आरोह र अवरोहको अनुभव सँगालेका छन् । पञ्चायतकामा भएको चर्चित झापा आन्दोलनका सहभागी हुने देखि डेढ दशक लामो जेल जीवन बिताएका ओलीसँग तल्लो वर्गको जीवनको तीतामीठा दुवै अनुभवहरू छन् । त्यसैले उनको हरेक लबजमा सिमान्तकृत वर्गको विद्रोहको सुस्केरा भेटिन्छ । ओली खरा छन्, सटिक छन् र सन्दर्भ अनुसारको बोली र व्यवहार देखाउँछन् । सुदुरपूर्वको सामान्य परिवारका ओली देशको प्रधानमन्त्री भइसकेका व्यक्तित्व हुन् । तर, यसपटक उनको प्रधानमन्त्रीको पदमा आरोहणको विशेष महत्व छ ।
समय र परिस्थितिले ओलीलाई साथ दिएको छ । उनी बहुमतप्राप्त बाम गठबन्धनका प्रधानमन्त्री बनेका छन् । देशमा पहिलोपटक वामपन्थीको बहुमत आएको छ । यसअघि कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र ओली स्वयं प्रधानमन्त्री भएका थिए । अधिकारी एमालेको अल्पमतको एकलौटी सरकारका प्रधानमन्त्री भएका थिए । नेपाल, खनाल र ओली स्वयं मिलिजुली सरकारका प्रधानमन्त्री भएका थिए । यसपटक वाम गठबन्धनको बहुमत हुँदा प्रधानमन्त्री हुनुले ओली शक्तिशाली भएका छन् । एमालेभित्र उनको पकड बलियो छ ।
वाम एकता भएको छ । ओली झन् बलियो बन्ने अवस्था बनेको छ । ओलीलाई प्रचण्ड जस्तो करिश्मामयी नेताको साथ हुनुले झन् शक्तिशाली बनाएको छ । एमालेभित्रका माधवकुमार नेपाल र झलनाल खनाललाई समेत साथमा लिनेगरी मन्त्रिमण्डल गठन गर्दै काम शुरू गरेबाट ओली आउँदा दिनमा समन्वयकारी नेताको परिचय बनाउन सक्ने संकेतहरू देखिइसकेको छ । सबैलाई समेटेर जाने सन्देश दिइरहँदा उनले प्रचण्डसँग सहमति बनाएर चुनाव अगावै तालमेल र एकताको खाका कोरिसकेका थिए । ओलीको समृद्ध मुलुक निर्माणको यात्रा सफल हुन सक्छ ।
ओलीका सामु चुनौतीको पहाड छ तर त्यही पहाडमा अवसर नै अवसरको हरियाली छाएको छ । देशमा तीन तहको चुनाव सम्पन्न भइसकेपछि संविधान कार्यान्वयनको मार्ग खुलिसकेको छ । देश संक्रमणकालबाट मुक्त भइसकेको अभिव्यक्ति दिएपनि ओलीले भविष्यमा देशलाई कस्तो दिशा दिनेहुन् भन्ने चासो बढेको छ । विवादमुक्त नेताको परिचय बनाएर ओली सत्तामा पुगेका छन् । उनी सत्तामा पुग्दा कोही विरोधी देखिएनन् । जनमत उनको पक्षमा देखिएको छ । वाम गठबन्धनलाई जनताले स्पष्ट बहुमत दिएबाट अबको पाँच वर्ष गठबन्धनले सरकार बनाउनसक्ने आधार बनेको छ । गठबन्धन कायम गरेर देशमा स्थायी सरकारसहित दीगो विकासका योजनाहरू कार्यान्वयन गराउन सक्ने अवस्था छ । ओलीका लागि समय, काल र परिस्थितिहरू अनुकूल छन् । यसलाई सदुपयोग गरेर बढ्न सके उनी राजनेता बन्न सक्छन् । ओलीलाई समृद्ध मुलुक बनाउने बाटो खुल्ला छ ।
देशमा धेरैजना प्रधानमन्त्री बने । कतिपय नेता विवादमा आए त कतिपयले जोखिम मोलेर देशमा परिवर्तन ल्याउन सके । बहुमुखी प्रतिभाका वीपी कोइरालाले राणा र राजाहरूसँग संघर्ष गरेर देशमा प्रजातन्त्रको विजारोपण मात्र गरेनन् संवद्र्धन समेत गरेर गए । उनले राजनीतिक जीवनमा धेरै अन्डर र ठक्कर खाएर गएपनि उनको राजनीतिक विचार हरेक लोकतन्त्रवादी नेपालीका लागि बौद्धिक ऊर्जा बनेको छ । वीपी काँग्रेस र कम्युनिष्ट दुवैका लागि सम्मानित छन् । कृष्णप्रसाद भट्टराइले सादगी जीवन जिएर देशलाई संविधान दिएका थिए ।
मनमोहन अधिकारीले लोककल्याणकारी कामहरू गरेर जनताको मन छुने गरी राज्यले काम गर्नुपर्ने सन्देश दिएर गए । गिरिजाप्रसाद कोइरालाले जुनसुकै हण्डर र ठक्करको सामना गरेर देशमा दीगो शान्ति स्थापनाका लागि महान कार्य गरेर आफूलाई राजनेताका रूपमा स्थापित गरे । चौतर्फी दबाब झेलेर संविधानसभामार्फत् संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गरेर सुशील कोइराला सदा सम्झन योग्य सादगी नेताको रूपमा सम्झनलायक बनेर गए । प्रचण्डले करिश्मा देखाउँदै देश र जनताको हितमा आफूलाई केन्द्रित राख्न जोखिमयुक्त निर्णयहरू लिदै आएका छन् । ओलीले माथि उल्लेखित सबै नेताहरूबाट केही न केही सिकेका छन् । कतिपय राजनेताहरूसँग ओलीले नजिक रहेर काम पनि गरेका छन् । यो अनुभव उनको कार्यक्षेत्रमा उपयोगी सावित हुनसक्छ ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ओली गृहमन्त्री थिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ओली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । उनी दुवै नेताका प्रीय थिए । कोइरालाले आफ्ना दलका नेतालाई भन्दा ओलीलाई बढी विश्वास गर्थे । ओली इमानजवान भएका भरोसायोग्य नेता हुन् भनी कोइरालाले आफ्ना विश्वासपात्रहरूलाई समेत सुनाउँथे । विचारमा स्पष्ट, अडान लिन सक्ने, कसैसँग नझुक्ने, निडर स्वभावका कोइरालाबाट ओलीले धेरै सिकेको विषय कोइराला निकटहरूमाझ अझै छलफलको विषय बन्ने गरेको छ ।
ओलीसँग समयलाई बुझ्न सक्ने, दुरदर्शी, प्रष्ट अडान, विचारमा प्रष्टता, नेतृत्व क्षमता मात्र नभई विचार दिन सक्ने क्षमता पनि छ । औपचारिक अध्ययन भन्दा व्यवहारिक अध्ययनले खारिएका ओलीलाई देशको तल्लो तहको रहनसहन मात्र नभई विश्व राजनीतिको उतारचढावको समेत राम्रो ज्ञान छ । भाषा र प्रस्तुतीमा राम्रो कला र खरो शैली भएकाले उनको बोली ब्राण्ड बनेको छ । जसलाई ओलीको बोली भनिन्छ । राजनेतामा हुनुपर्ने गुणले भरिएका ओलीले देशलाई अब के दिने हुन् त्यसले उनको ऐतिहासिक मूल्यांकन गर्नेछ ।
ओलीले संसदको चुनाव अगाडि धेरैलाई आश्चर्यमा पार्दै बोल्ड निर्णय लिए । माओवादी केन्द्रसँग तालमेल गरी चुनाव लडे । केही पाउन केही गुमाउनुपर्छ भन्ने मान्यता अनुसार ओलीले प्रचण्डसँग लेनदेन गरेका थिए । जसले उनलाई सफल बनायो । उनी गणतन्त्र नेपालका सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीका रूपमा सिंहदरबारमा पुगेका छन् । ओलीको सत्तारोहणमा प्रचण्ड जस्तो राजनेता सारथी बनेका छन् । नेपालको राजनीति ओलीमय अवस्थामा पुगिसकेको छ । अन्तर्राष्ट्रिय समुदायको समेत ओलीलाई साथ र सहयोग देखिइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओली प्रधानमन्त्री नहुँदै दुईपटक टेलिफोन वार्ता गरी स्वागतका लागि आतुर रहेको बताएका थिए । लगत्तै ओलीलाई आफ्नो सन्देश सहित विशेष दूतका रूपमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाए ।
भारतले प्रधानमन्त्री नबन्दै वेटिङ प्रधानमन्त्रीलाई सन्देश दिन विशेषदूतका रूपमा विदेशमन्त्री पठाएको यो पहिलो अवसर थियो । यसबाट पनि मोदीको ओलीसँग मिलेर काम गर्ने सन्देश प्रवाह भएको छ । नेपालमा भारतले धेरै विकास परियोजना अगाडि बढाउँदै छ । यसलाई मूर्त रूप दिन भारतले ओलीसँग हातेमालो गरिसकेको छ । ओली अब मोदीलाई नेपाल भ्रमणमा बोलाउन चाहन्छन् । मोदीको पहिलो आगमनपछि आफ्नो पहिलो भ्रमण भारतबाट शुरु गर्न चाहन्छन् । त्यो नभएपनि उनको पहिलो विदेशभ्रमण भारत नै हुनसक्छ ।
ओलीसँग भारतको सुमधुर सम्बन्ध बनाउन राजदूत मञ्जिभ सिंह पुरीको विशेष भूमिका रह्यो । समन्वयनकारी सालिन राजदूतले ओलीलाई पटक पटक भेटेर चिसोपन हटाएका थिए । चीनसँग पनि ओलीको समुधुर सम्बन्ध छ । उनले दुवै छिमेकीसँग सुमधुर सम्बन्ध राखेर बढ्न सके विदेश सम्बन्धमा सन्तुलन हुनेछ । अमेरिका र यूरोपेली युनीयनलगायत अन्य मुलुकहरूसँग पनि सुमधुर सम्बन्ध बनाउने खूबी ओलीमा छ । अनुभव, ज्ञान र विवेकको समिश्रणसहितको निर्णय क्षमता देखाउन सके देशमा लगानी ओइरिनसक्छ । नेपालमा राजनीतिक स्थायित्व, दीगो शान्ति र लगानीको वातावरण रहेको सन्देश ओली सरकारले दिन सक्नुपर्छ ।
जनताको मनमा बस्ने गरी गतिलो निर्णय गर्नुपर्छ । कसैप्रति आग्रह पूर्वाग्रह नराखी एक्सनमा जानुपर्छ । ओली अब नेकपा एमालेका मात्र नेता होइनन्, देशका प्रधानमन्त्री हुन् । उनका लागि जुनसुकै विचारका भएपनि क्षमतावान्लाई सही ठाउँमा सही जिम्मेवारी दिने उदार भावना आउनुपर्छ । ओलीमा त्यो व्यवहार विगतमा समेत देखिएको थियो । आशा छ भविष्यमा झन् बढी देखिनेछ । ओलीले पार्टी विशेषका मात्र नभई देशकै सर्वमान्य नेता हुने बोल्ड निर्णयहरू दिनुपर्छ । ओली सबैको साझा नेता बन्नुपर्छ ।
विकास, सुशासन, स्थायित्व र भ्रष्टाचारमुक्त समाज निर्माणको सञ्जिवनी बुटी दिन सक्नुपर्छ । विधिको शासन, कानुनी राज्यको निर्माण, अपराधीलाई निरुत्साहित मात्र नभई उन्मूलन गर्ने नीति ल्याउनुपर्छ । ओलीबाट नेपाली जनताले धेरै आशा राखेका छन् । ओलीको सत्तारोहरणसँगै नेपाली जनताले धेरै सपना देखेका छन् । ती सपना साकार पार्न ओलीले अहोरात्र काम गर्ने बेला आएको छ । ओलीले काम गरेर जनताको मुहारमा खुशी ल्याउन सक्छन् । जनताको मन मन्दिरमा बसेर राजनेताको स्थान बनाउन सक्छन् ।