Logo

विप्लवको आक्रमक शैली : सम्झौता वा संघर्षको लागि ?



काठमाडौं, ८ फागुन : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आव्हान गरेको बन्द निकै आक्रमक देखिएको छ । बन्दका क्रममा डिउटीमा निस्किएको प्रहरी टोलीमाथि ढुंगामुडा भएका खबरहरु समेत बाहिर आएका छन् ।

एमाले–माओवादी केन्द्रबीच एकताको लागि सम्झौता भएको भोलिपल्टै आज विप्लवले देशभरि बन्द हड्ताल गरेका छन् । उनको बन्द संयोग हो कि के हो ? त्यो अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था छैन् ।

उनको बन्द सम्झौताको लागि हो कि साँच्चिकै संघर्षमा जानको लागि हो ? त्यो पनि अहिले सोचनीय कुरा छ । विप्लवसँगै मोहन बैद्य र अन्य साना माओवादी पार्टीका नेताहरुवीच सशस्त्र संघर्षमा जानेबारे वार्ता चलिरहेको सूत्रहरुले बताउँदै आएका छन् ।

आजको बन्दमा विप्लव किन आक्रमक भए ? यो प्रश्न अहिले सबैको मनमा खड्किएको छ । विप्लव नेतृत्वको माओवादीद्वारा प्रहरीमाथि ढुंगामुडा गर्दा उनका २१ कार्यकर्ता प्रहरी नियन्त्रणमा रहेका छन् ।

बन्दको पिकेट डिउटी परिचालन गर्न निस्किएको सशस्त्र प्रहरीको बा १ ग १८१३ नं.को ट्रकलाई आरती स्टिल अगाडि कोशी राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई दिएका छन्।

उक्त घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाडादेवी(१ बस्ने मजदुर महासंको कोशी ब्युरो संयोजक ३० वर्षीय हरिचन्द्र खड्का र मोरङ बुढिगंगा(२ बस्ने बुढिगंगा सेक्रेटरी ६१ वर्षीय सुरेश राई रहेको प्रहरीले जनाएको छ।

यस्तै रूपन्देहीको कञ्चन गाँउपालिका(५ पिपरिचापास्थित भित्री सडकमा एउटा रोकिराखेको बसमा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्।



प्रतिक्रिया दिनुहोस्