Logo

मुख्यमन्त्री राउतलाई दुई तिहाई समर्थन



काठमाडौं, १० फागुन । संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेर २ नम्बर प्रदेशको मुख्यमन्त्री भएका लालबाबु राउतले प्रदेशसभामा दुईतिहाई समर्थन पाएका छन् । विश्वासको मत परीक्षण हुँदा वाम गठबन्धनले समेत समर्थन गरेपछि राउतले दुईतिहाईको समर्थन पाएका हुन् ।

फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो । राजपाको समर्थनमा मुख्यमन्त्री बनेका फोरम संसदीय दलका नेता लालबाबु राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए ।

बैठकमा विपक्षमा रहेका २ दल एमाले र माओवादी केन्द्रले पनि राउतलाई समर्थन गरेको छन् ।  माओवादी संसदीय दलका नेता भारतकुमार साहले पनि सररकारलाई समर्थन गर्ने घोषणा गरेका छन् । नेपाल संघीय समाजवादी र एक स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन् ।

कांग्रेसले भने समर्थन गरेन । सरकारको पक्षमा ८२ मत परेको छ भने विपक्षमा १८ मत खसेको छ । १ सय ७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ, जुन फोरम र राजपाकै छ । तर, एमाले, माओवादी सहितका दलले समर्थन गरेपछि सरकारले दुईतिहाई बढी मत पाएको छ ।



प्रतिक्रिया दिनुहोस्