Logo

देउवाजी, अर्ली महाधिवेशन गरौँ, सभापतिमा कसरी जित्नुहुँदोरहेछ हामी पनि हेरौँला : शेखर कोइराला



वीपी कोइरालाका दाजु केशवप्रसाद र कांग्रेसकी शक्तिशाली नेतृ नोना कोइरालाका पुत्र डा. शेखर कोइराला कांग्रेसका प्रभावशाली नेता हुन् । गएको महाधिवेशनमा उनी सबैभन्दा रुचाइएका नेता प्रमाणित भएका थिए । राजनीतिमा ०४७ साल पछिमात्रै सक्रिय भए पनि ठूला राजनीतिक परिवर्तनहरुमा डा. शेखरको भूमिका कम छैन । अहिले कांग्रेस चुनामा लज्जास्पद पराजय भएर शिथिल भएको छ । नेतृत्वको कमजोरीका कारण कांग्रेसले पराजय बेहोरेको भन्दै कोइरालाले अब नयाँ तरिकाले कांग्रेसलाई अगाडि लैजानुपर्नेमा जोड दिदै आएका छन् । उनै कोइरालासँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

देउवा संसदीय दलको नेता बन्नुहुँदैन, कांग्रेसलाई बचाउने बारेमा सोच्नुपर्छ

नेपालको इतिहासमै कांग्रेस सबैभन्दा कमजोर देखियो । यो कुरा मान्न तयार हुनुहुन्छ ?
केही हदसम्म हो ।

अब कांग्रेस कसरी अगाडि बढ्छ ?
नेपाली कांग्रेस अहिले एकदमै कमजोर अवस्थामा देखिन्छ । स्थानीय तहमा पनि ७ सय ५३ मध्ये ५ सयभन्दा बढि तहमा हामी छैनौँ । प्रदेश र केन्द्रमा पनि हामी छैनौँ । तर तीनवटा चुनाव हामीले नै सम्पन्न गर्न सक्यौँ ।

तर कांग्रेसलाई जनताले त रुचाएनन् नि ?
जनताले नरुचाएको होइन । हाम्रो नेतृत्वले संगठन बलियो बनाउन सकेन । अहिले कांग्रेसको संगठन कमजोर छ । अब सुधार गरेर जानुपर्छ ।

कांग्रेसको संगठन बलियो बनाउन अब केके गर्नुपर्छ ?
संगठन सुधारका लागि नेतृत्वले कसरी सोचेको छ । त्यो मलाई थाहा छैन । हामीसँग सरसल्लाह हुँदैन । केन्द्रिय समिति मात्रै हो । समितिको बैठक अब छिटै बस्छ । त्यो पनि संसदीय दलको विधान पास गर्नका लागि मात्रै हो । संसदीय बोर्ड र कार्यसम्पादन समिति अवैधानिक छ भनेपछि बल्ल नेतृत्वले केन्द्रिय समितिको बैठक बोलाइएको हो ।

केन्द्रिय समितिको बैठक बसेर मात्रै कांग्रेस बलियो हुन्छ ?
हुँदैन । नेतृत्वले के बुझेको छैन भने नेपाली जनताले अझै पनि हामीलाई भोट दिएका छन् । माया गरेका छन् । तर हाम्रो क्रियाकलापले गर्दा हामी पराजित भएका हौँ । सभापतिले एउटा सभामा भन्नुभयो, “व्यक्ति हारेको हो पार्टी हारेको होइन ।” कसरी भन्नुभयो, किन भन्नुभयो । मलाई थाहा छैन । यो कुरा उहाँले बोल्नुहुँदैनथ्यो । त्यस्तो सभापतिको नेतृत्वले पार्टीको संगठन बलियो हुनै सक्दैन । उहाँले मेरो नेतृत्वमा कांग्रेसले हारेको छ भन्ने कुरा स्विकार गर्नुभयो भने ठिक ठाउँमा पुग्नुहुन्छ ।

अब तपाईहरु के गर्नुहुन्छ त ?
हामीले अब छिटोभन्दा छिटो महासमिति बैठक डाक्नुस् भनिरहेका छौँ । समिक्षा गरौँ भनेका छौँ । महासमिति बैठकले आमुल रुपमा विधान संशोधन गरेर अर्ली अधिवेशनमा जानुपर्छ । सभापति र उहाँका नजिकका केही साथीहरु पदाधिकारी थपिदिने, केन्द्रिय समिति र विभागहरु थपेर टालटुले नीति अपनाउन खोज्नुभएको छ । त्यसले कांग्रेसलाई झन कमजोर बनाउँछ ।

सभापति शेरबहादुर देउवा त झन शक्तिशाली बन्नका लागि गृहकार्य गर्दैहुनुहुन्छ नि ?
त्यसै शक्तिशाली बन्छु भनेर हुँदैन । पहिला त महासमिति बैठक बस्नुपर्छ । महासमितिले जुन निर्णय गर्छ, त्यसलाई महाधिवेशनले इन्डोर्स गरेपछि मात्रै कार्यान्वयन हुन्छ । यो कुरा सभापतिले पनि बुझ्नुपर्छ । जथाभावी गरेर हुँदैन । नेपाली कांग्रेस उहाँहरुको पेवा होइन । नेवि संघ, तरुण दल, महिला संघ, दलित संघ लगायतका संगठनहरुमा सबै देउवाकै मान्छे छन् । उहाँ त अहिले पनि शक्तिशाली हुनुहुन्छ नि । तर पार्टी त कमजोर रैछ । उहाँलाई यस विषयमा चिन्ता छैन ? उहाँ आफू बनेर के गर्नुहुन्छ ? जबसम्म पार्टी बलियो हुँदैन तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ ।

२०६४ सालमा कांग्रेसले चुनाव हार्दा तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले राजिनामा दिनु नपर्ने, अहिले देउवाले चाँही किन नेतृत्व छोड्नुपर्ने भनेर देउवा पक्षधर नेताहरुले भनिरहेका छन् नि ?
सभापति छोड्न कसले भनेको छ र ? मैले त भनेको छैन । तर छिटोभन्दा छिटो महासमिति बैठक र अर्ली महाधिवेशन गरेर जितेर देखाइदिनुस् न । कसरी जित्नुहुँदोरहेछ हामी पनि हेरौँ ।

अर्ली महाधिवेशनको औचित्य पुष्टी कसरी गर्नुहुन्छ ?
नेपाली कांग्रेसको विधान एकात्मक राज्य प्रणालीमा आधारित छ । देश संघियतामा गइसक्यो । तर उहाँहरुले अहिलेकै सिस्टमबाट बनाइदिन खोजिरहनुभएको छ । १३ औँ अधिवेशनेदखि नै उहाँहरुले प्रयास गरिरहनुभएको छ । तर अब हामी दिदै दिदैनौँ । एक इन्ची पनि बढ्द दिदैनौँ उहाँहरुलाई । कार्यसम्पादन बसाउन नसक्ने सभापतिले भनेको कुरा हामी स्विकार्दैनौँ ।

तर कांग्रेसभित्र पदको लागि सम्झौता गर्ने नेताहरु छन् नि ?
छन् । देखिसकियो । प्रवक्ता नै जानुभयो । त्यसमा मलाई चिन्ता छैन । तर जो जाँदैनन् तिनीहरु लडेर बस्छन् । नेपाली कांग्रेस काठमाण्डौमा बस्ने हामी जस्ता मात्रै होइनन् । गाउँमा बस्ने कार्यकर्ताले कांग्रेसलाई हामीलेभन्दा धेरै चिनेका छन् ।

देशभरका कार्यकर्ताले नेतृत्व परिवर्तन गर्न चाहेका छन् त ?
विधि पूरा गरेर अर्ली अधिवेशन गरेर जो नेतृत्वमा आउनुहुन्छ, त्यसलाई स्विकार गर्नुपर्छ ।

तपाई सभापतिमा चुनाव लड्नका लागि तयार हुनुहुन्छ ? देउवालाई हटाउने क्षमता छ तपाईहरुसँग ?
म मात्रै होइन, धेरैजना तयार छन् । शेरबहादुर देउवाजीमा के सक्षमता छ र ? उहाँले पनि चारपटक हारेर बल्ल जित्नुभएको हो । उहाँले ससंदीय दलमा एकपटक, सभापतिमा एकपटक जित्नुभएको हो । किन शेरबहादुर देउवाजीलाई बलियो ठान्नुहुन्छ ?

फेरी संसदीय दलको नेता देउवा नै बन्दैहुनुहुन्छ नि ?
मैले पनि सुन्दैछु । म त संसदमा छैन । देउवाले २०५१ साल सम्झिनुपर्छ । त्यसबेला एमालेसँग पराजित भएर कांग्रेस दोस्रो दल बन्न पुग्यो । त्यसबेला गिरिजाले संसदीय दलमा लड्नुभएन त । उहाँले देउवालाई दलको नेता बनाउनुभएको होइन ? त्यति ज्ञान पनि छैन देउवालाई ?

उहाँलाई रोक्न सक्नुहुन्न ?
म त संसदमा नै छैन ।

तर तपाईको प्रभाव र भूमिका त होला नि ?
अब उहाँले समानुपातिकमा भरमग्दुर प्रयास गरेर सबै आफ्ना मान्छेलाई सासंद बनाउनुभएको छ । उहाँ नै बलियो हुनुहुन्छ । तर पनि लड्नुपर्छ । कोही न कोही आउनुपर्छ । च्यालेन्ज गर्नुपर्छ ।

देउवालाई च्यालेन्ज गर्न सक्ने नेता छन् ?
शुशील कोइरालाले च्यालेन्ज गर्नुभएको होइन ? रामचन्द्रजिले संसदीय दलमा हराउनुभएको होइन ? अहिले त्यति धेरै पावर भइसक्यो र देउवासँग ? उहाँको पावर भनेको समानुपातिक सासंद हो । ७० प्रतिशत आफ्नै मान्छेलाई राख्नुभयो । त्यतिले हुन्छ ? उहाँले कांग्रेसको भविष्य सोच्नुपर्दैन ? अहिले संसदीय दलमा नउठे के हुन्छ ? पहाड फुट्छ ?

शेरबहादुर देउवाले संसदीय दलको नेतामा उठ्न हुँदैन भन्ने पक्षमा तपाई हुनुहुन्छ ?
हो । अरु जसले जित्छ उही बन्छ । देउवाले छोड्नुपर्छ ।

संसदीय दलको नेता को बन्दा ठिक हुन्छ ?
महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भयो भने मात्रै दलको नेता बन्छु भन्नुभएको छ । त्यसका लागि उहाँले नै पहल गर्नुपर्छ । प्रकाशमानजि पनि लड्छु भन्नुभएको छ । कोही न कोहीले उम्मेदवारी दिनैपर्छ । तर देउवाले सोच्नुपर्यो । ५१ साल सम्झिनुपर्यो । कांग्रेसलाई बचाउने बारेमा सोच्नुपर्छ ।

कांग्रेसको एउटा टिमले त देउवालाई नै उक्साइरहेका छन् नि ?
त्यो टिमका नेताहरु कमजोर छन् । शेरबहादुरजीको हालीमुहालीमा उहाँहरु चल्न खोज्नुहुन्छ । तर देउवा त विपीको अनुयायी भएर विद्यार्थीकालदेखि नै राजनीतिमा आउनुभएको हो । कांग्रेस यति कमजोर भएको बेलामा उहाँले संसदीय दलको नेतामा उठ्नु हुँदैन भन्ने मेरो मान्यता हो ।



प्रतिक्रिया दिनुहोस्