Logo

एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनिविरुद्ध विरोधको झण्डा उठाऔँ : किराँती



फागुन ११, काठमाण्डौ । बिहीबार पार्टीबाट कारवाहीमा परेका माओवादी नेता गोपाल किरातीले आफूलाई दाहाल एण्ड कम्पनीले कारबाही गरेको भन्दै आफू माओवादीमै रहेको दाबी गरेका छन् ।

माओवादी केन्द्रमा दाहाल एण्ड कम्पनी नरहेको किरातीको तर्क छ ।

नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)सँग एकता गर्न सात बुँदे सहमति गरे पछि माओवादी केन्द्रको पुनर्गठनको आह्वान तीन नेताले गरेका थिए ।
बिहीबार बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले किरातीसहित विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको थियो ।

शुक्रबार विहान विज्ञप्ति जारी गर्दै किरातीले कारवाहीलाई ’कथित कारवाही’को संज्ञा दिँदै माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारवाहीको संज्ञा दिएका हुन् ।

’सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ,’ माओवादी केन्द्रको संयोजकको हैसियतमा जारी गरिएको विज्ञप्तिमा अगाडि भनिएको छ, ’किनकी उक्त कारवाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारवाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो ।’

माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप भएको किरातीको चेतावनी छ ।

‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो,’ विज्ञप्तिमा भनिएको छ ।

उनले अध्यक्ष प्रचण्डलाई नै माओवादी केन्द्रमा नरहेको दाबी गर्दै एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्डा उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्