Logo

सम्झौता र शर्तका आधारमा मधेशवादी दललाई सरकारमा सहभागि गराउँदैनौँ : रिमाल



फागुन १२, काठमाण्डौ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले संसदमा बहुमत गुम्ला कि भनेर स–साना दललाई बोकेर हिँड्नुपर्ने अवस्था नरहेकाले अहिलेको सरकार विकास निर्माणमा केन्द्रित हुने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्नका लागि सरकार प्रतिवद्ध भएर काम गर्ने बताए ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल विस्तार गर्न नसकेको नभै कार्यसूचि नै ढिलो बनाइएको दाबी रिमालले गरेका छन् ।

चुनाव जितेको ७० दिनपछि बल्ल सरकारको नेतृत्व गर्न पाएकाले मन्त्रीमण्डल विस्तार पनि सोहीअनुसार विस्तारै गरौँ भनेर ढिला गरिएको रिमालको भनाई छ ।

“मेरो विचारमा आइतबार–सोमबारसम्ममा मन्त्रीमण्डल विस्तार हुन्छ ।” रिमालले भने ।

मन्त्री छान्नका लागि कुनै समस्या नरहेको जिकिर गर्दै रिमालले ठूलो पार्टी भएकाले मन्त्रीका आकांक्षी धेरै हुनु स्वभाविक भएको बताए ।

पार्टी एकता प्रक्रिया र मन्त्रालय घटाउनुपर्ने भएकाले पनि सरकार विस्तारमा ढिलाई भएको उनको तर्क छ ।

दुई पार्टीकाबिचमा मन्त्रालय भागबण्डा गर्नुपर्ने र त्यसपछि मन्त्री छान्नुपर्ने भए पनि कुनै समस्या नभएको उनको दाबी छ ।

तत्काल राज्यमन्त्री र सहायक मन्त्री राख्ने योजना नभएको भन्दै उनले यदी राखिहाले पनि २५ जनाभन्दा बढि नहुने बताए ।

प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्रीको परिकल्पनासमेत नगरेको रिमालले बताए ।

उपप्रधानमन्त्री नपाएकै कारण कसैले पनि विवाद नगर्ने उनको दाबी थियो ।

आफूहरुले सबै दललाई सरकारमा सहभागि भएर राष्ट्रिय सरकार बनाउन चाहेको बताएँदै रिमालले कांग्रेसले आफैँ प्रतिपक्षमा बस्ने चाहना देखाइसकेकाले संघीय समाजवादी फोरम र राजपालाई भने सरकारमा सहभागि गराउने प्रयास भइरहेको बताए ।

अहिलेको समय संक्रमणकाल नभएकाले कुनै पनि सम्झौता गरेर सरकारमा सहभागि गराउन जरुरी नभएको उनको भनाई छ ।

कुनै पनि शर्त मान्न नसकिने भन्दै उनले सुखी नेपाली, समृद्ध नेपालको अभियानमा सहभागि हुन चाहनेलाई मात्र सरकारमा सहभागि गराईने उनको भनाई छ ।

मधेशी दलले भनेजस्तो संविधान संशोधनको विषयमा आफूहरु प्रवेश नै नगरेको रिमालले बताए ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा अहिलेसम्म पार्टीले कुनै निर्णय नगरेको जानकारी दिदै रिमालले अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारी नै बलियो उम्मेदवार भएको बताए ।

माओवादीले पनि समर्थन गर्ने भएकाले भण्डारीकै सम्भावना बढि भएको रिमालले बताए ।



प्रतिक्रिया दिनुहोस्