Logo

सभापति देउवालाई मात्रै हारको जिम्मेवार बनाउन हुँदैन : लेखक



फागुन १२, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेतृत्व मात्रै कमजोर भएकाले कांग्रेसले चुनाव हारेको भन्ने तर्क गलत भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लेखकले सभापति शेरबहादुर देउवाले हरेक निर्णय सबै नेताहरुसँगको छलफल र समझदारीका आधारमा गरेकाले सभापतिलाई मात्रै हारको जिम्मेवार बनाउन नहुने लेखकको भनाई छ ।

चुनावमा आएको नजिता कांग्रेसको साझा भएकाले जिम्मेवारी पनि साझा नै हुनुपर्ने लेखकको तर्क छ ।

“कसैको कम जिम्मेवारी होला, कसैको धेरै होला । तर एक जनाको मात्रै सबै जिम्मेवारी हुँदैन ।” लेखकले भने ।

कांग्रेसले चुनाव हारेपछि पुनः स्थापित गर्न जरुरी भएको भन्दै लेखकले आन्तरिक द्धन्द्धलाई व्यवस्थापन गर्नुपर्ने बताए ।

चुनाव हारेपछि देउवाको आलोचनामा अतिवादी र एकाङ्की ढंगले छलफल चलेको भन्दै लेखकले यस किसिमको छलफलबाट सही बाटोमा जान नसकिने बताए ।

“एकथरीले सभापति मात्रै दोषी हुनुहुन्छ भन्ने ढंगले प्रस्तुत हुने, अर्कोथरीले सभापतिलाई धेरै जिम्मेवारी थियो, पार्टीका अरु नेताले सहयोग गरेनन् भन्ने तरिकाले जाने हो भने ठिक ठाउँमा पुग्न सकिदैन ।” लेखकले भने ।

“सही निष्कर्ष के हो भने कांग्रेस संस्थागत रुपले संचालन भएको छ । टिकट वितरण गर्ने सवालमा पनि नेताहरुबिच सल्लाह गरेर नै टुङ्गो लगाइएको हो । समितिहरुबाट निर्णय गरेर नै कांग्रेस अगाडि बढेको छ भने जिम्मेवारी पनि साझा हुन्छ नि त ।”

विधान विपरित समितिहरु गठन भएको भन्दै अहिले विरोध गर्नेहरुले पनि त्यसबेला सहमति जनाएको लेखकको दाबी छ ।

“पार्टी सभापति मात्रै दोषी हो भन्ने कुराले हामीलाई ठीक ठाउँमा पुर्याउँदैन । सामुहिक जिम्मेवारी लिनुपर्छ । राम्रा काम हामीले सबैले गरेका हौँ भने विग्रिएका कामको जिम्मेवारी पनि सबैले लिनुपर्छ ।” उनले भने ।

यद्यपी विधानअुनसार नै जानुपर्छ भन्ने आफ्नो धारणा रहेको लेखकले स्पष्ट पारे ।

नेपाली कांग्रेसकाको केन्द्रिय समितिको बैठक आइतबार बस्दैछ ।

१३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा बैठक बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजितपछि पार्टीको अवस्था, राष्ट्रपतिको निर्वाचन, संसदीय दलको नेता चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भइसकेको बताउँदै आगामी दिनमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहनका लागि तयार हुने विषयमा पनि छलफल गरिने लेखकले बताए ।

लेखकले कांग्रेसको आन्तरिक व्यवस्थापन गर्न पनि जरुरी भएकाले त्यसतर्फ पनि ध्यान केन्द्रित हुने बताए ।

विधानअनुसार जिम्मेवारी बाँडफाँट हुन नसकेको भन्दै लेखकले गर्नुपर्ने जरुरी कामहरु पहिलो प्राथमिकतामा रहेको बताए ।

पदाधिकारी नियुक्ति, विभागहरु गठन, प्रदेश संरचना लगायतका कुरा अहिलेसम्म हुन नसकेको लेखकको भनाई थियो ।

पछिल्लो समय कांग्रेसले देशका लागि महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको भन्दै लेखकले सबै तहका चुनाव सम्पन्न गराएर संविधान कार्यान्वयनको बाटोमा देशलाई अघि बढाउन कांग्रेस सफल भएको बताए ।



प्रतिक्रिया दिनुहोस्