Logo

सिरकलाई खोल हाल्यो कहिल्यै खस्दैन श्रीमतीलाई खोल हाल्यो जीउमै बस्दैन : शैलेन्द्र सिङ्खडासँगको रमाइलो कुराकानी



विधि हराएको वैधानिकता र नीति हराएको नैतिकतामा धेरै पृष्ठ ओगटेको छ
हामीसँग त त्यस्तो नेता छ जसको शरीर अजिङ्गरको छ टाउको भोगटेको छ
आमाको दूध पिएको भए पो आमाको माया लाग्नु भैँसीको दूध पिएपछि कुर्सीको माया लाग्दोरहेछ
बारीको काउली खाए पो देशको माया लाग्छ पारीको काउली खाएपछि पारीकै माया लाग्दोरहेछ

नेपाल देश राम्रो छ । नेताहरुले देश बनाउनसक्नुपर्छ

नदीको किनारमा सुनको वालुवा थुप्रिने देश
चराले विष्ट्याउँदा मन्दीरको गजुरमा पित्तल उम्रिने देश
चुठेको रछ्यानमा गोलभेडा र खुर्सानी फल्ने देश
पानीघट्टमा टर्वाइन जोडिदियो भने विजुली बल्ने देश
नदी पहाड ताल तलाउ सिङ्गै राष्ट्र एसी
राष्ट्र चलाउने नेताको वुद्धी चाँही विदेशी, यस्तो हुनुभएन ।

विदेशीबाट विकासका कुरा सिक्नुपर्छ । राजनीति आफ्नै पृष्ठभूमिमा गर्नुपर्छ ।
देश बनाउनका लागि एमाले र माओवादी जुटेका छन् । यो राम्रो हो । यसलाई शुभकामना दिनुपर्छ ।

उहाँहरुले देश बनाउन सक्नुभएन भन्ने त्यसपछि भन्ने कुरा आफ्नो ठाउँमा छ ।
हामी हास्यव्यङ्ग्यकर्ताले पनि समय हेछौँ । राम्रो गर्नेलाई त राम्रै भन्नुपर्छ । सधैँ गाली मात्रै गरेर भएन ।

कुनै पनि देशमा विकास नहुँदा मात्रै हास्यव्यङ्ग्यको खुराक नहुने भन्ने हुँदैन । अमेरिकामा विकास भएको छ । तर त्यहाँ पनि हास्यव्यङ्ग्यको खुराक हुन्छ ।

हास्यव्यङ्ग्यको खुराक खोज्न सक्नुपर्छ । हास्यव्यङ्ग्य भनेको त समाजमा भएको र जनताको मनमा भएको कुरालाई ल्याएर प्रष्टसँग भन्नुपर्छ । यो नै हास्यव्यङ्ग्यको मुल मर्म हो ।

त्यो मर्मलाई राजनीतिबाट मात्रै उत्खनन् गर्नुपर्छ भन्ने छैन । समाजबाट पनि उत्खनन् गर्न सकिन्छ ।

समाजका विकृति त हामीले भनेकै छैनौँ । व्यापारीले गरे पनि हुने । पत्रकारले जे गरे पनि हुने । कलाकारले जे गरे पनि हुने । डाक्टर, वकिलले जे गरे पनि हुने । नेताले मात्रै गाली गरेर त भएन नि ।

सबै क्षेत्रमा सुधार हुनुपर्छ ।
हामीसँग भएको थोत्रो भाँडोलाई पिटेर गजुर बनाउनुपर्छ । पुरानै थोत्रा नेताहरुलाई हास्यव्यङ्ग्य गर्नुको अर्थ पित्तललाई पिटेको हो ।

मैले आजभोली क्यारिकेचर गर्न छोडिदिएँ । पहिला गर्थेँ । कुनै एक व्यक्तिलाई होच्याएको जस्तो, खिल्याएको जस्तो, यो हास्यव्यङ्ग्यको नशा पनि होइन । यो त बसयात्राका लागि प्रयोग गरिने हास्यव्यङ्ग्य मात्रै भन्छु ।

आजभोली सटिक कुराहरुमात्रै समाजमा भन्ने गरेको छु । क्यारिकेचरको आवश्यक छैन । कुनै व्यक्तिको नक्कल गरिन्छ । त्यो व्यक्ति मरेपछि क्यारिकेचर पनि सकिन्छ ।

मुटु जलेर जेठजस्तो मन भत्किएर असाढ जस्तो
आँखा वर्षेर साउन जस्तो
यति राम्रो देशमा बसेर पनि कष्ट भोग्न
किनकी नेता छानेछौँ रावणजस्तो
अनुहार हेर्दा वंशजस्तो, कान हेर्दा कंशजस्तो
कस्तो देशमा जन्मिएछौँ, कस्तो पानी पिएछौँ
बाउको पैसा लिएर घरको सामान किन्दा पनि कमिसन खान मन लाग्छ
कस्तो नेता छानेछौँ, कस्तो चुनाव गरेछौँ
देशको हालत देख्दा भोट हाल्ने हातलाई पनि सिलौटोमा राखेर थिच्न मन लाग्छ
अरु देशको नेता जनताको भोटले चल्छ
हाम्रो देशको नेता अर्काको रिमोटले चल्छ
सडकसडकमा आगजनी छ व्यापारीभन्दा नेता धनी छ
सहमति र सम्झौता गर्न दिल्ली जान्छ
म यस्तो देशको नागरिक हुँ,जहाँ पुलिसले चोर्छ अदालतले घुस खाने गर्छ

 

प्रमिकाले दिँदा फूल मसक्क हाँस्ने
फूलको रुप चुँडेर मान्छेले प्रित गाँस्ने

नारी जीवनको फूलबारी
यसको संरक्षण गर्ने हाम्रो पनि हो जिम्मेवारी
तर के गर्नु,
सिरकलाई खोल हाल्यो कहिल्यै खस्दैन
श्रीमतीलाई खोल हाल्यो जीउमै बस्दैन

चार रोपनीको शरीरमा दुई आनाको टालो
टालो पनि बाक्लो भए त हुन्थ्यो नि दुरुस्तै माकुराको जालो

हेर्नुस्, मेडी लाएर पिडौँला देखाउँछन्
पञ्जा लगाएर औँला छोप्छन्
स्वदेशी पहिरन विदेशी फेसन चोरे
औला र पिडौँला भन्या त आलु र पिडालु भन्या जस्तै हो रे

केटा भनेको बन्दा हो, केटी भनेको काउली
बन्दाको छेउमा काउली, जहिले पनि उत्ताउली
सत्रपत्र लुगा लगाउने बन्दा कस्तो भद्र
जन्मदै घाँघर फिँजाएर जन्मिने हेर्नुस् त काउलीको चरित्र

(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग शैलेन्द्र सिङ्खडाले व्यक्त गरेका भनाई तथा कविता)
फागुन १२, काठमाण्डौ



प्रतिक्रिया दिनुहोस्